वार्षिक कामको समिक्षामा काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी महानगरको समृद्धिका लागि क्षमताको उपयोग गरौंः मेयर शाक्य
साउन ७, २०७७, बुधबार | विहान ०२:०५ बजे | 30
काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले विभागीय र महाशाखा प्रमुखहरुलाई प्रभावकारी र परिणाममुखी काम गर्न आग्रह गर्नुभएको छ । आर्थिक बर्ष २०७६÷०७७ को बार्षिक समीक्षा कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख शाक्यले यस्तो आग्रह गर्नुभएको हो । ‘बार्षिक बजेट, नीति तथा कार्यक्रममा उल्लेख भएका र आफूसँग सम्बन्धित काम समयमा सम्पादन गर्नु तपाईहरुको दायित्व हो,’ उहाँले भन्नुभयो, ‘महानगरबासी, कर्मचारी र जनप्रतिनिधिबीच आत्मीय सम्बन्ध बिकास गर्दै र समन्वयलाई प्रभावकारी बनाउँदै परिणाममापन हुने गरी काम गरौं ।’
उहाँले काठमाडौँ महानगरपालिकाका कर्मचारीहरुसँग अन्य स्थानीय तह सञ्चालनका बिषयमा विभिन्न स्थानीय तहमा गएर प्रशिक्षण चलाउन सक्ने क्षमता भएको भन्दै त्यो क्षमता आफ्नै कार्यालयमा पनि देखाउन सुझाव दिनुभयो । ‘यहाँका अधिकांश कर्मचारी क्षमतावान हुनुहुन्छ । त्यसैले महानगरको समृद्धिका लागि त्यो क्षमताको उपयोग गरौं,’ प्रमुख शाक्यले भन्नुभयो, ‘मलाई नीति चित्त बुझेन, कार्यक्रम चित्त बुझेन, म यो काम गर्दिन भन्ने छुट कर्मचारीलाई हुँँदैन । सार्वजनिक सेवा प्रवाह गर्दा सहज र सर्वसुलभ ढंगले प्रवाह गर्नुहोला ।’
बिभाग, आयोग, महाशाखा, आयोजना, इकाई र सचिवालयको प्रतिनिधित्व गर्दै २७ जनाले प्रस्तुतिकरण गर्नुभएको थियो । समीक्षा कार्यक्रममा आगामी दिनमा महानगरले गर्ने खर्चबाट स्थानीयमा प्राप्त भएको लाभलाई प्रगति सूचकको मुख्य बुँदाका रुपमा राख्ने, आन्तरिक तथा वाह्य समन्वय र सूचना प्रणालीमा सुधार गरेर काठमाडौंलाई स्थानीय तहको नेतृत्वदायी संरचना बनाउने कुरामा जोड दिएको छ । स्मार्ट शासन÷प्रशासन, स्मार्ट सेवा प्रवाह र व्यवस्थापन, सेवामा पारदर्शिता र जवाफदेहिता, एकीकृत र समन्वयात्मक बिकास जस्ता विषयमा पनि ध्यान दिनुपर्नेमा जोड दिइएको थियो ।
समिक्षा कार्यक्रममा प्रस्तुतिकरण गर्दै स्वीकृत नीति, योजना तथा कार्यक्रम कार्यान्वयनमा प्राबिधिक क्षेत्रका जनशक्ति कम हुनु, महामारी आउनुजस्ता कारण देखाइएको थियो । महालेखा परीक्षकको कार्यालयले देखाएको वित्तीय अनुशासन कायम गराउन थप तत्परता देखाउनु पर्ने जस्ता विषय पनि समिक्षामा उठेका थिए ।
महानगरपालिकाले सबै बिभागको प्रगति सम्बन्धि तथ्य संकलन गरेर प्रतिवेदन तयार गर्न निर्देशक दिपक अधिकारी र उपनिर्देशक प्रल्हाद घिमिरेलाई जिम्मेवारी दिइएको छ ।
सामाजिक बिकास बिभाग, प्रशासन बिभाग, सम्पदा तथा पर्यटन बिभाग, सहरी पूर्वाधार बिकास बिभाग, बित्त बिभाग, सहरी शुशासन बिभाग, वातावरण व्यवस्थापन बिभाग, सूचना प्रबिधि बिभाग, भवन इजाजत बिभाग, बिपद् व्यवस्थापन बिभाग, सहकारी बिभाग, शिक्षा बिभाग, कृषि बिभागले प्रगति समिक्षा प्रस्तुत गरेका थिए ।
त्यसैगरी कानून महाशाखा, अन्तरराष्ट्रिय सम्बन्ध र मेयरको सचिवालय , सार्वजनिक निजी साझेदारी इकाइ, आन्तरिक लेखा परीक्षण शाखा, नगर प्रहरी महाशाखा, मनोहरा जग्गा बिकास आयोजना, चमती नयाँबजार जग्गा बिकास आयोजना, खरिद इकाइ, हनुमान ढोका दरवार संरक्षण कार्यक्रम, पशु महाशा, सहरी योजना आयोग, जनस्वास्थ्य महाशाखाको तर्फबाट वार्षिक प्रगति समिक्षा प्रस्तुत भएको थियो ।
त्यसैगरी भैरव बोगटीले संघ÷प्रदेश संसद बिकास कोष र दीपक अधिकारी — महालेखाबाट प्राप्त प्रतिवेदनको समिक्षा गर्नुभएको थियो ।