ध्यानको ज्ञान र साधना
कार्तिक १६, २०७८, मङ्गलबार | विहान १०:१० बजे | 80
डा इन्दुल केसी
प्रारम्भ
नेपाली साहित्यका हजारौं किताबहरु प्रकाशन भइसकेका छन् । उपन्यास, कथा, नाटक, कविता, नियात्रा आदि विषयमा विभिन्न लेखकहरुले विभिन्न विधामा लेखिएका किताबहरु दिनहुँ जसो प्रकाशित भइरहेका छन् । यस क्रममा मलाई जानकारी भए अनुसार श्री एस.पी. आसाज्यूले २६ वटा किताबहरु लेखी प्रकाशित गरी सक्नु भएको छ । प्रत्येक प्रकाशित पुस्तकहरुको भिन्दा भिन्दै विशेषता हुने गर्दछ । एस.पी. आसाज्यूले लेख्नु भएको “छयासमिस” नामको पुस्तकमा रहेको ‘ध्यानका अनेक प्रकार’ शिर्षकको एउटा लेखमा म केन्द्रित हुन खोजिरहेको छु । एस.पी. आसाज्यू एक सुपरिचित लेखक हुनुहुन्छ भन्ने कुरा उहाँले लेख्नुभएका २६ वटा किताबको बारे हजारौं पाठकहरुलाई जानकारी भएको हुनुपर्छ । वहाँले लेख्नुभएका ती किताबहरुको साथै स्वदेश तथा विदेशमा रहनु भएका विभिन्न लब्द प्रतिष्ठित विद्वान्हरुले एस.पी. ज्यूको बारेमा ८ वटा किताबहरु पनि प्रकाशित भइसकेका छन् ।
“छयासमिस” किताबमा रहेका १३१ वटा लेखहरुलाई निम्न अनुसार ५ भागमा विभक्त गरिएका छन् । यसलाई सरल रुपमा बुझ्न एउटा तालिका बनाई पाठकहरुलाई जानकारी दिन प्रस्तुत गर्नु सान्दर्भिक होला भन्ने ठान्दछु ।
तालिका
क्र.सं. भागको नाम रचनाको संख्या
१. ऐतिहासिक संस्मरण २४ वटा लेख
२. लघु कथा १३ वटा कथा
३. कविता ५९ वटा कविता
४. गीत÷गजल १३ वटा गीत÷गजल
५. टुक्रा टाक्री २२ वटा विभिन्न रचना
जम्मा १३१ वटा रचनाहरु
मेरो यो लेख छयासमिस किताबको टुक्रा टाक्री खण्डमा रहेको एउटा लेख ‘ध्यानका अनेक प्रकार’मा सिमित हुन खोजिरहेको छु ।
ध्यानका अनेक प्रकार
श्री एस.पी.आसाज्यूको त्यो किताबको नाम नै छयासमिस रहेझै त्यो लेखमा पनि ध्यानका अनेक प्रकाहरु पनि वहाँकै शब्दमा छयासमिस छ । तर मैले यसलार्य छयासमिस भन्नुभन्दा पनि पायस(खिर) भन्नु उचित ठाने । जसरी खिरमा दुध, चिनी, विभिन्न मसलाको रुपमा नरिवल, छोकदा, दाँक, ऐलैची, सुकुमेल आदि मिसाएर मीठो, स्वादिलो, पौष्टिक खाना तयार गरिन्छ, त्यसरी नै ध्यानका अति महत्वपूर्ण कुराहरु समिश्रण गरी यो लेख तयार गर्नुभएको छ ।
पूर्विय अध्यात्मिक दर्शन, धर्मशास्त्र र केहि महापुरुषहरुले ध्यानको बारे भन्नुभएका केहि अंशहरु एस.पी. आसाज्यूले त्यो संक्षिप्त लेख तयार गर्नुभएको छ । उक्त लेखमा श्रीमद् भागवत, गीता, रजनीश, विपश्यका ध्यान, भावातीत ध्यान, जैन धर्मको – शरीर ध्यान, योग शास्त्र – हठ योग, सूक्षम शरीर र स्थूल शरीर, षडचक्र, इटा, पिङ्गला, सुषुम्ना नाडी, ब्रम्हकुमारी राज योगका अनेकौं ध्यान विधि, ईस्कोनको हरेकृष्ण अभियान आदि कुराहरुको नामहरु उल्लेख गरेका छन् । लेखक एस.पी. आसाज्यू स्वयम् भन्नुहुन्छ – “मैले जानेका छोटकरी परिचय गराएँ । यहाँ ज्ञानको भण्डार छ । अझ कयौं लुप्त छन् । जुन तपस्वी र साधकले यो समाजमा फैलाउने छन् ।”
छयासमिस किताबमा रहेको यो लेख नै छयासमिसको एउटा नमूना जस्तो भन्ने लाग्छ । ध्यानको एउटा विशाल समुद्रलाई एस.पी. आसाज्यूले लोहतामा भर्नुभएको देखिन्छ । ध्यानको बारे जान्न चाहने व्यक्तिहरुको लागि त्यो संक्षिप्त लेखले ध्यान मार्गमा लाग्नेहरुको लागि मार्ग निर्देशन गर्नुभएको छ ।
हाम्रा ६ वटा वैदिक दर्शनहरुमा योग दर्शन पनि एउटा हो । भौतिक शरीरलाई र चैतन्य शरीरलाई ध्यानले जोड्छ । ज्ञानलाई आत्मासँग जोड्ने, द्रष्टा र दृश्यलाई जोड्ने गरिन्छ । यसरी ध्यानको चर्चा गर्दा योग दर्शनको कुरा आउँछ ।
ध्यानबारे अरु थप जानकारी
हाम्रा धर्म शास्त्रहरुमा उपनिषदको विशेष स्थान छ । विभिन्न नामका १०८ वटा उपनिषदहरुमध्ये ध्यानको बारे चर्चा गर्दा (१) योग राजोपनिषद (२) योग तत्वोपनिषद (३) योग चूडामणिउपनिषद (४) योग कुण्डली उपनिषद (५) ध्यान विन्दू उपनिषदहरुको अध्ययन पनि उपयोगी हुन्छ । यी कुराहरु एस.पी. आसाज्यूले त्यो किताबमा उल्लेख गर्नु नभएता पनि उपनिषदका सार कुरालाई छयासमिस रुपमा राख्नुभएको देखिन्छ । यसैले प्रसङ्गवश मैले उल्लेखित ५ उपनिषदहरुको नाम जिज्ञासु पाठकको लागि उपयोगी हुने ठानी यहाँ उल्लेख गरेँ ।
१) रजनीश
ओशो रजनीशज्यूको नाम पनि एस.पी. आसाज्यूले उक्त लेखमा उल्लेख गर्नुभएको छ । वास्तवमा ओशो रजनीशज्यूले ध्यानलाई वैज्ञानिक रुपले चर्चा गर्नुभएको पाईन्छ । उहाँले ध्यानका २१ वटा सक्रिय विधिहरु, २१ वटा निष्क्रिय विधिहरु पनि हामीलाई प्रदान गर्नुभएको छ ।
२) विपश्यना
प्रंशगवश एस.पी. आसाज्यूले बुद्धको विपश्यना ध्यानको नाम पनि उल्लेख गर्नुभएको छ । शान्त, मौन भई आन पान – केवल श्वासको गति हाम्रो नाकको प्वालबाट प्रवेश गराउने र निष्काशन गर्ने कुरालाई केन्द्रित गरी गरिने क्रियालाई विपश्यना ध्यान भन्ने गरिन्छ ।
अन्तमा
पतञ्जली ऋषिले अष्टाङ्ग योगको प्रतिपादन गर्नुभएको हो । अष्टाङ्ग योगको ८ वटा अङ्गहरुमध्ये ध्यान पनि एक अङ्ग हो । ध्यानको सैधान्तिक पक्षको ज्ञान र उक्त ज्ञानलाई प्रयोगको रुपमा गरिने क्रिया नै साधना हो । यस साधनाले ब्रम्ह तत्वको साक्षात्कार हुने बताईन्छ । ध्यानको बारे चर्चा गर्दा (१) शिव संहिता (२) घेरेन्द्र संहिता (३) पतञ्जली ऋषिले देखाउनुभएको अष्टाङ्ग योग (४) खप्तड स्वामीज्यूको धर्म विज्ञान पुस्तक (५) स्वामी श्री विशुद्धदेवज्यूले रचना गर्नुभएको चरित्र विज्ञान किताब (६) महात्मा शुशीलज्यूले लेख्नुभएको पाशुपत योग किताब इत्यादिले दिएको ज्ञान हासिल गर्नु उपयोगी हुन्छ । किताब मात्र पढेर ज्ञान आर्जन गर्नुभन्दा ध्यानलाई स्वयम्ले प्रयोग गरी – साधनाद्वारा यसबाट पाइने फाइदा प्राप्त गर्नु अति उपयोगी हुन्छ ।
आसा प्रकाशन केन्द्रबाट प्रकाशित यो छयासमिस किताब नेपाली साहित्यका अनुरागीहरु तथा ध्यानका मुमुक्षीहरुको लागि ज्यादै उपयोगी पुस्तक संग्रहनिय भएको मैले पाएँ ।