नगरकोट सडक बनाइन दिन प्रधानमन्त्रीसँंग गुहार


कार्तिक १५, २०७८, सोमबार | दिउँसो ०२:२० बजे | 40


नगरकोट सडक बनाइन दिन प्रधानमन्त्रीसँंग गुहार

नगरकोट । भक्तपुरको चाँगुनारायण नगरपालिकाले जिल्लाको नगरकोट सडकका ठेकेदार शैलुङ कन्ट्रक्सनविरुद्ध प्रधानमन्त्रीकहाँ उजुरी दिएको छ । नगर प्रमुख सोमप्रसाद मिश्रले सोमबार भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई उक्त पत्र हस्तान्तरण गरेका थिए ।
चाँगुनारायण नगरपालिका क्षेत्रमा पर्ने कमलविनायकदेखि नगरकोटसम्मको सडक बनाउने जिम्मा लिएर ७ वर्षदेखि अलपत्र पारेको भन्दै नगरपालिकाले जिल्ला प्रशासन कार्यालय भक्तपुरमार्फत् प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएको हो । समयमा सडक नबन्दा सो क्षेत्रका स्थानीयवासीहरु वर्षाको समयमा हिलो र हिउँदमा धुलो सहन बाध्य भएको पत्रमा उल्लेख छ ।    
भारतीय कम्पनी एआईपीएल र शैलुङ कन्ट्रक्सनले १५.६६ किलोमिटर दुरीको उक्त सडक चौडा र कालोपत्रे गर्न २०७५ असार ३ गते सम्पन्न गर्ने गरी २०७१ असार २ गते ठेक्का सम्झौता गरेका थिए । कम्पनीले ठेक्का सम्झौता गरेको ७ वर्ष बितिसक्दा पनि सडक निर्माणको काम सम्पन्न हुन सकेको छैन । यसबाट नगरकोट घुम्न आउने पर्यटकहरुलाई प्रभाव पारेको छ ।
लामो समयसम्म सडक निर्माणको काम सम्पन्न नहुँदा देशकै उत्कृष्ट पर्यटकीय गन्तव्य नगरकोटमा पर्यटकको आवागमनमा समेत न्युन हुँदै गएकोसमेत नगरपालिकाले उल्लेख गरेको छ ।
यसअघि पनि नगरपालिकाले सम्बन्धित निर्माण व्यवसायी संघीय सरकारको आयोजना कार्यालय, मन्त्री र विभिन्न पार्टीका नेता र संघीय संसदको विकास समिति, अर्थ समितिमा पटकपटक लिखित तथा मौखिक प्रयास गगरीसकेको छ, तर  हालसम्म कुनै प्रगति नभएपछि प्रधानमन्त्री कहाँ उजुरी दिएको जनाएको छ ।
नगरपालिकाले सो सडकको ठेक्का सम्झौता रद्द गरी अर्को प्रक्रिया सुरु गर्न वा स्रोतसहित स्थानीय सरकारलाई आयोजना हस्तान्तरण गर्न माग गरेको छ । साथै उक्त सडक सम्बन्धमा १ महिनाभित्र आफ्ना माग पुरा नभएमा कडा कदम चाल्न बाध्य हुने चेतावनी समेत नगरपालिकाले दिएको छ ।

Comments