चार करोड ३० लाख लगानीमा लुम्बिनीमा बन्यो बज्रयान विहार, राष्ट्रपतिबाट उद्घाटन


कार्तिक १४, २०७८, आइतबार | दिउँसो १२:४५ बजे | 35


चार करोड ३० लाख लगानीमा लुम्बिनीमा बन्यो बज्रयान विहार, राष्ट्रपतिबाट उद्घाटन

लुम्बिनी । गौतमुबद्धको जन्मथललो लुम्बिनीमा नेपाली मौलिकता झल्किने बज्रयान विहारको आज सम्माननीय राष्ट्रपतिले उद्घाटन गर्नुभएको छ । विहारको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले गौतमबुद्ध नेपालमै जन्मिएको भन्दै नेपाल र नेपालीको गौरव भएको बताउनुभयो ।  ‘म एउटै कुरा भन्छु, गौतमबुद्दको जन्म नेपालमै भएको हो,’ उहाँले भन्नुभयो, ‘गौतमबुद्धले आफ्नो लामो तपस्याबाट ज्ञान आर्जन गर्नुभयो र विश्व समूदायका लागि अमूल्य विचार दिनुभयो । बुद्ध दर्शनको मर्म र भावना अनुसार हामी चल्न सक्नुपर्छ त्यो मर्म र भावना अनुसार चल्न सक्यौँ भने निश्चय पनि देशको विकास हुन्छ ।’ उहाँले  विश्वमा कुनै पनि देशले कुनै न कुनै रुपमा बुद्धको सोँच र दर्शनलाई अपनाएकै हुन्छन् भन्नुभयो । ‘नेपालमा विकास गर्न पैसाको कमी होइन,’ उहाँले भन्नुभयो, ‘लुम्बिनीको विकास गर्न गुरुयोजना बनेर पनि किन रोकिएको छ ? आन्तरिक कारण के–हो ? यो विषयमा पनि सबैले गम्भीर भएर सोच्नुपर्ने हुन्छ ।’
उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ महानगरपालिकासहितको आर्थिक सहयोगमा विहार बन्दा खुशी लागेको बताउनुभयो ।  ‘काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि लुम्बिनी भ्रमणका सिलसिलामा आउँदा मौलिकरुपमा बनिरहेको तर अपूरो विहार देखेपछि काठमाडौँ महानगले केही सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको थियो, ‘उहाँले भन्नुभयो, ‘त्यहि अनुसार सहयोग गरेका हौँ ।’ उहाँले आज सम्माननीय राष्ट्रपतिबाट उद्घाटन हुँदै गर्दा खुशी लागेको पनि बताउनुभयो ।  ‘अन्य विहार बनाउन विभिन्न देशले सहयोग गरेको हामीले देख्यौँ,’ प्रमुख शाक्यले भन्नुभयो, ‘तर, नेपाली विहारमा नेपाल सरकारको कुनै सहयोग नभएको र यसले पूर्णता प्राप्त गर्न नसकेको अवस्थामा काठमाडौँ महानगरपालिकाले आफ्नो महानगरपालिकाको मौलिकतासँग पनि मिल्ने विहार भएकाले काठमाडौँको संस्कृति झल्किने गरी बनाइरहेको विहालाई सहयोग गरेको हो । हाम्रोसहितको सहयोगमा मौलिकता झल्किने गरी विहार बनेको देख्दा गौरव लागेको छ ।’ शाक्यले काठमाडौँ महानगरपालिकाले जस्तै संघीय र प्रदेश सरकारले पनि नेपालका मौलिकता झल्किने कार्यमा सबैको सहयोग होस भन्ने अपेक्षा रहेको बताउनुभयो ।  
परम्परागत नेपाली बज्रयान महाविहार समितिका अध्यक्ष डाक्टर नरेशमान बज्राचार्य नेपालमा विहार बनाउने कुरा हरेक नेपालीको कर्तव्य रहेको स्मरण गराउनुभयो ।  ‘काठमाडौँ महानगरपालिकाले आफूले बोलेको कुरा पूरा गरेरै छाडेको छ, खुशी लागेको छ,’ उहाँले भन्नुभयो, ‘काठमाडौँ महानगरपालिकाको करीब चार करोड २९ लाख १८ हजार सहयोगमा विहारका कलात्मक झ्याल, ढोका, टुँडाल र परम्परागत नेपाल मण्डल द्वार निर्माण भएको छ ।’
उहाँले अझै थप रकम खर्च हुने भन्दै थप सहयोगको अपेक्षा गर्नुभयो । ‘लुम्बिनी विकासकोषमा गुरुयोजनामा लुम्बिनीमा नेपालको उपस्थिति जनाउने उदेश्यले बज्रयान विहान निर्माण गरेको हो,’ उहाँले भन्नुभयो, ‘यो विहार निर्माणका लागि हामीले कुनै पनि विदेशीको सहयोग लिएका छैनौँ ।  यो हाम्रो आदर्श र सपना हो, यो पूरा हुँदैछ ।’
उहाँले नेपाली बौद्धकला, बास्तुकलालाई निरन्तरता दिने अर्को उदेश्य रहेको पनि बताउनुभयो । ‘नेपालमा यस्तो कलाकृतिको विहार बन्न छाडेको ३ सय ७२ वर्ष भयो,’ उहाँले भन्नुभयो, ‘३ सय ७२ वर्षपछि अहिले यो विहार बनिरहेको छ । हामीले बास्तुकलालाई पनि ध्यान दिएका छौँ ।’  उहाँले  यहाँको गतिविधिलाई जीवन्न बनाउने अर्को उदेश्य रहेको बताउनुभयो । ‘स्वदेशकै लगानीमा यो विहार बन्ने कुरा ठूलो स्वाभिमान हो,’ उहाँले भन्नुभयो ।
नेपाल परम्परागत बौद्धधर्म संघका उपाध्यक्ष मानिकरत्न शाक्यले अहिलेसम्म करिब १६ करोड खर्च भएको भन्दै २० करोडको लगानीमा सम्पन्न हुने अपेक्षा लिएको बताउनुभयो । कार्यक्रममा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, वागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, वागमती प्रदेशका पूर्वमन्त्री डाक्टर अजयक्रान्ति शाक्य, काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायतको पनि उपस्थिति रहेको थियो ।

Comments