काठमाडौँ महानगरले दियो प्रसुतिगृहलाई पीसीआर र वीरलाई स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिन
साउन ४, २०७७, आइतबार | दिउँसो ०३:५१ बजे | 75
काठमाडौं । काठमाडौं महानगरपालिकाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र प्रसुति तथा स्त्री रोग अस्पताल थापाथलीलाई कोभिड–१९ परिक्षणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । भगिनी सम्वन्ध स्थापित जनवादी गणतन्त्र चीनको तिब्बत स्वशाशित क्षेत्रमा रहेको ल्हासा नगरले महानगरपालिकालाई अनुदान स्वरुप दिएका केही स्वास्थ्य सामाग्री ती दुई अस्पताललाई आज हस्तान्तरण गरिएको हो ।
असार ११ गते तातो पानी नाकाको मितेरी पुलमा ल्हासा सहरका विदेश विभाग प्रमुख झासजियकन सहितको टोलीले काठमाडौँ महानगरपालिकाकाको टोलीलाई हस्तान्तरण गरेका ती सामाग्री पैदल मार्गबाट सिन्धुपाल्चोक हुँदै काठमाडौं ल्याइएको थियो ।
प्रसुती गृहलाई हस्तान्तरण गरेको पीसीआर मेसिनको मूल्य चार लाख ४० हजार युआन र वीर अस्पताललाई हस्तान्तरण गरेको स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिनको मूल्य १ लाख युआन रहेको महानगरपालिकाले जानकारी दिएको छ ।
कार्यक्रममा बोल्दै वीर अस्पतालका निर्देशक डाक्टर केदार प्रसाद सेन्चुरीले आगामी दिनमा पनि महानरपालिकासँग थप सहयोगका अपेक्षा गरेको बताउनुभयो । प्रसुतीगृहका निमित्त निर्देशक डाक्टर सन्दिप पौडेलले पनि महानगरपालिकाले यस्तो अवस्थामा गरेको सहयोगको खुलेर प्रषंशा गर्नुभयो ।
काठमाडौँ महानगरपालिकाको अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका अधिकृत यम वसेलका अनुसार अधिकृत यम वस्यालले ल्हासाबाट स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिन १ थान, यसमा प्रयोग हुने रिजेन्ट ३ हजार थान, पिसिआर मेसिन १ थान, भिटिएम ३ हजार थान प्राप्त भएको जानकारी दिनुभयो । यस्तै आरडीटी किट ३ हजार थान, डिस्पोजेब सर्जिकल पञ्जा २ हजार ५ सय थान, मेडिकल मास्क ३ हजार थान, इन्फ्रारेड थर्मोमिटर ३ सय ७५ थान र पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पीपीइ) २ हजार छ सय थान रहेका छन् । अन्य सामाग्री महानगर आफैंले प्रयोग गर्ने जनस्वास्थ्य महाशाखाले जनाएको छ ।