पाण्डे बागमती प्रदेशको नयाँ मुख्यमन्त्री बन्ने पक्का
कार्तिक १०, २०७८, बुधबार | विहान १०:३६ बजे | 65
काठमाडौं – बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाएकी छिन्। प्रदेशसभा बैठकमा मार्गप्रशस्त गरेको घोषणा गरेकी शाक्यले बैठकपछि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएकी हुन्।
सत्तारुढ दल नेकपा एमाले विभाजन भएपछि शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको थियो।
सत्तारुढ दल वा सत्ता साझेदार दल विभाजन भएपछि संविधानअनुसार मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। संविधानको त्यही व्यवस्थाअनुसार उनले कात्तिक ५ गते बसेको प्रदेशसभा बैठकमा विश्वासको प्रस्ताव पेश गरेकी थिइन्।
तर, बुधबार विश्वासको मत लिने प्रयोजनको लागि बोलाइएको बैठकमा शाक्यले राजीनामाको घोषणा गरेकी थिइन्। उनले संविधानको धारा १६९ (१) (क) अनुसार मार्गप्रशस्त गरेको प्रदेशसभा बैठकमा बताएकी थिइन्।
शाक्यको राजीनामा सँगै बागमती प्रदेशमा अब नयाँ सरकार गठनको प्रक्रिया सुरू भएको छ। मुख्यमन्त्रीको राजीनामापछि संविधानअनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरू भएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।
प्रदेश सरकारको नेतृत्वका लागि विपक्षी गठबन्धनबीच यसअघि नै नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई जिम्मेवारी दिने सहमति भइसकेको छ।
सरकार गठनका लागि प्रदेश प्रमुखबाट आह्वान भएसँगै पाण्डे बागमती प्रदेशको नयाँ मुख्यमन्त्री बन्ने पक्का छ। भदौ २ गते बागमतीको मुख्यमन्त्री बनेकी शाक्यको ७१ दिनपछि बर्हिगमन भएको छ।