बिजुलीको नयाँ महसुल दर ः २० युनिटसम्मलाई निःशुल्क
कार्तिक १०, २०७८, बुधबार | विहान १०:२७ बजे | 80
मङ्सिर १ गतेदेखि बिजुलीको नयाँ महसुल दर लागु हुने भएको छ । विद्युत् महसुल निर्धारण आयोगले नयाँ दर स्वीकृत गरिसकेको र बुधवार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भएको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले मंगलबार आयोजित एक कार्यक्रममा पनि मङ्सिरदेखि नयाँ दर लागु हुने जानकारी दिइन् ।
मङ्सिर १ देखि सस्तो दरमा बिजुली दिँदै छौँ, उनले भनिन्, “यो महसुलले साना तथा ठूला विद्युतीय सवारी चलाउनदेखि घरायसी खपतलाई बिजुली सस्तो बनाएको छ ।”
उनले सरकारले साझा यातायातमार्फत ठूला विद्युतीय सवारी सञ्चालन गर्न खोजिरहेको पनि जानकारी दिइन् ।
विद्युतीय तीन पाङ्गे्र सवारी साधन ट्रियो मोटर्सको अनावरणका सिलसिलामा उनले यातायात, भान्सा, सिँचाइ तथा उद्योगहरूमा स्वच्छ ऊर्जाको बिजुलीको खपत बढाउने गरी आफूले प्राथमिकतासहित काम गरेको बताइन् ।
भान्सामा विद्युतीय चुलो, सडकमा विद्युतीय सवारी साधन, सिँचाइमा सहुलीयतपूर्ण दरको बिजुली उद्योगहरूलाई चाहिएजति बिजुली दिन आफूले विशेष चासो दिएर विद्युत् महसुल सस्तो बनाउने र खपत प्रवद्र्धन गर्ने काम गरेको उनको भनाइ थियो । गोरखापत्र दैनिक