आज गथामग चर्हे
साउन ४, २०७७, आइतबार | विहान ०३:२२ बजे | 60
आज गथामग चर्हे
भक्तपुर । आज नेवार समुदायले मनाउने वर्षकै पहिलो पर्व हो गथांमग चर्हे । साउन कृष्णपक्षको चतुदर्शी तिथीका दिन पर्ने यो पर्वलाई ’घण्टाकर्ण चतुर्दशी’ पनि भनिन्छ । यस पर्वको अवसरमा नेवार समुदायले नर्कट र छ्वालीको लिङ्गाकृत तीनखुट्टे गथांमग बनाई टोलका दोबाटो र चौबाटोमा जलाएर मनाउने गर्दछन् ।
तर यस वर्षभने यो पर्व मनाउन भक्तपुर नगरपालिकाले नमाउन आग्रह गरेको छ । कोरोना भाइरस (कोभिड १९) कारण यस वर्ष यो मात्र नभई धेरै पर्वहरु औपचारिकतामा मात्र सिमित भएका छन् । कोरोनाको संक्रमण बढ्दै गएको हुनाले यस वर्षमा पनि भिडभाड हुने भएकोले औपचारिकतामा मात्र सिमित गरिएको जनाइएको छ ।
नेवार समुदायले हर्षोल्लासका साथ मनाउने घण्टाकर्ण पर्व उनीहरुको मौलिक पर्वमध्येको एक हो । यस दिनलाई नेवार समुदायले आफ्नो घर गृहशान्तिको कामना र आफ्ना परिवारलाई रोग–ब्याधी नलागोस् भनेर राक्षस धपाउने पूजा गर्ने दिनका रुपमा लिइन्छ ।
यो दिन घरमा भूतप्रेत पस्न सक्दैन भन्ने जनविश्वास रहेको छ । घरका साना केटाकेटीलाई फलाम वा तामाको औँठी लगाइदिने चलन पनि रहेको छ । वयस्क युवतीले आजको दिन विशेषगरी खुट्टामा विभिन्न प्रकारका टाटु खोप्ने प्रचलन पनि रहेको छ ।
यस पर्वलाई किसानको ‘सिनाज्या ब्यंकेगु’ (रोपाइँ कार्य सम्पन्न भएको) र चाडपर्वको शुरुवाट भएको पर्वका रुपमा लिने चलन छ । नेवार समुदायमा रोपाइँ सकेपछि घर सफा गर्ने, हिलो पखाल्ने पर्वका रुपमा ‘सिनाज्या ब्यंकेगु’ पर्व मनाउने गरिन्छ ।
नेवार समुदायमा घण्टाकर्ण पर्व प्राचीन कालदेखि नै प्रचलनमा रहेको संस्कृतिविद् ओम् धौभडेल बताउँछन् । उनका अनुसार यो पर्व काठमाडौँ उपत्यकामा करिब दुई हजार वर्षअघि देखि प्रचलनमा रहेको छ । यस पर्वले मानिसमा भएको नकारात्मक सोच र व्यवहार परिवर्तन गर्न उत्प्रेरणा मिल्ने र व्यक्ति, परिवार, समाज र देशमा शान्तिको कामना गर्ने पर्वका रुपमा समेत लिइने गरेको संस्कृतिविद् धौभडेलले बताए ।
आजकै दिनदेखि नेवारी समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउन सुरु गरिन्छ । नेवारी समुदायमा सिठी नखःलाई वर्षको अन्तिम पर्वका रुपमा लिने र सो दिनदेखि घण्टाकर्णसम्म धान रोपाइँ सक्नुपर्ने भएकाले कुनै पनि धार्मिक महत्वको कार्य नगर्ने परम्परा रहेको छ ।