के हो पायो जात्रा ?
विजयादशमीको मध्यराति तलेजुबाट सुरु भई नगरका विभिन्न क्षेत्रमा मनाइने सेतो घोडासहितको जात्रा नै पायोजात्रा हुन । परम्परा अनुसार हरेक वर्ष विजयादशमीको दिन मध्यराति तलेजुबाट बाजागाजासहित सेतो घोडा निकालिन्छ । उक्त घोडाको पछाडी तलेजु भवानी ल्याइन्छ भने तलेजु भवानीको पछाडी नवदुर्गा भवानी गण ल्याउने गर्दछन । सेतो घोडा तलेजु भवानीको बाहन हुन । तसर्थ तलेजु भवानीको अगाडि यो घोडा ल्याउने गर्दछ । यसरी पायो जात्रा गरी दरबारस्क्वायर र नगरका अन्य क्षेत्रमा घोडा, तलेजु भवानी र नवदुर्गा गण परिक्रमा गरिन्छ । त्यसैगरी सोही दिन नवदुर्गा देवगणहरुले तलेजुको जमदार चोकमा तलेजु भवानीलाई ढोग गरिन्छ । प्रत्येक वर्षको विजया दशमीको मध्यरातमा ज्योतिषीले चन्द्रमाको गतिअनुसार थाः न्ह्यायेगु (माथि सवारी हुने) वा क्वः न्ह्यायेगु (तल सवारी) हुने निर्णय पहिले नै भएअनुसार तलेजु भवानीको जात्रा अगाडि सेतो घोडाको जात्रा हुन्छ । माथी सवारी हुने हो भने भक्तपुर नगरको मथिल्लो भेगमा घोडालाई लग्ने गर्दछ । यसरी माथिल्लो भेगमा लग्दा तचपाल टोल भन्दा माथी लगिन्दैन । भक्तपुर नगरको पूर्वतर्फ विराजमान ब्रह्मायणी देवीको वाहन पनि सेतो घोडा नै हो । त्यही भएर भक्तपुरको पायो जात्राको क्रममा सदैव तलेजु भवानीको सेतो घोडा ब्रह्मायणी देवीले आफ्नो बाहनको रुपमा लैजाला भनी तचपालबाटै तलतिर फर्काउने गरेको हो भन्ने किवंदन्ती रहेको छ । यसरी माथिल्लो भेगको परिक्रमा गरि गहिती स्थित स्वबुगं भैरवबाटै दरवार स्क्वायर पुर्याइन्छ । त्यस्तै तल्लो भेगको परिक्रमा गरि गहिती स्थित स्वबुगं भैरवबाटै दरवार स्क्वायर पुर्याइन्छ । यसक्रममा तलेजुको सुनको ढोका अगाडि सेतो घोडा तीन पटक ओहोरदोहोर गराइन्छ । जसलाई भक्तपुरको घोडाजात्रा पनि भन्ने चलन छ । नेपाल संवत् ४४३ पौषशुक्ल नवमी शनिबारको दिन तलेजु भवानीको आगमन भएको इतिहास रहेको छ र उक्त दिन देखि यो जात्रा शुरु भएको थियो ।
नवरातका नौ दिन भक्तपुरमा नौ देवीहरुको मन्दिरमा दर्शन गरि आफ्नो मनले चिताएका बरबधु यसै पायो न्ह्याकेगु दिन बिबाह गर्ने गर्दछ ।