खेतीयोग्य जमिन बाँंझो राख्नेलाई कारबाहीको माग
काठमाडौं । देशभर कुल खेतीयोग्य जमिनको एक तिहाई अर्थात् तीन भागमा एक भाग जमिन बाँंझो रहेको बताइएको छ । नेपालमा खेतीयोग्य जमिनमध्ये करिब १० लाख ३० हजार हेक्टर क्षेत्रफल बाँझो छ । सरकारी तथ्यांक अनुसार नेपालको कुल खेतीयोग्य जग्गा ४१ लाख २१ हजार हेक्टर छ । हाल ३० लाख ९१ हजार हेक्टर क्षेत्रफलमा मात्रै खेती गरिन्छ ।
कृषिमा रुपान्तरण सम्भाबना र चुनौती विषयमा शुक्रबार राजधानीमा भएको अतरसंवाद कार्यक्रममा बरिष्ठ वैज्ञानिक डा.कृष्णप्रसाद तिमल्सिनाले तथ्यांक प्रस्तुत गर्दै यही कारणले पनि नेपाल खाद्यान्नमा परनिर्भर रहन बाध्य भएको बताए । विपी चिन्तन प्रतिष्ठानले गरेको कार्यक्रममा उनले भने, यही कारण धान मात्रै पनि बार्षिक ४० देखि ५० अर्वको विदेशबाट आयात गर्नुपर्छ ।
कार्यक्रमका सहभागी अन्य वक्ताहरुले जमिन बाँंझो राख्नेलाई कारबाही गर्नुपर्ने आवश्यकता औंल्याए । कम्तीमा पनि दुई तीन वर्ष जमिन बाँझे राखे स्थानीय नियका नगरपालिका, वडाले त्यसमा कृषि गर्नुपर्ने उनीहरुले बताए ।
कृषि क्षेत्रमा लगानीअनुसार फाइदा नहुने देखिएपछि कृषि पेसाबाट पलायन हुने अवस्था बढ्दै गएको पाइएको उनीहरुको भनाई हो । कृषिमा श्रम गर्ने युवा शक्तिको पलायन, न्यून उत्पादकत्व, कृषि उत्पादन सामग्रीको कमी, कम नाफामुखी व्यवसाय र अपेक्षित रुपमा सम्मानित पेसाका रुपमा विकसित हुन नसक्नु लगायतका कारण खेतीयोग्य जमिन बाँझो रहेको उनीहरुको भनाई हो ।
‘घाटाको व्यापार कसले गर्छ, नेपालमा कृषि क्षेत्र नाफामुखी छैन,’ कृषिविज्ञ कुलप्रसाद तिवारले भने, ‘लागत अनुसार आम्दानी हुँदैन, यसले खेतीपातीमा आकर्षण घट्दो छ र खेती बाँझो भएको हो ।’
देशभर व्यवसायिक भन्दा निर्वाहमुखी खेती भइरेको छ । यहाँको उत्पादनले भारतको उत्पादनसँग प्रतिस्पार्ध गर्न नसकेर बजार पाउन समस्या हुन्छ । यसले गर्दा किसानहरु निउत्साहित हुन्छन् । भारतबाट आउने उपजसँग स्वदेशी कृषि उपज प्रतिस्प्रर्धा गर्न सक्दैन ।
कार्यक्रममा बताइए अनुसार तराई क्षेत्रको तुलनामा पहाडी क्षेत्रमा बढी जग्गा बाँझो छ । यसो हुनुमा पहाडी क्षेत्रमा तराई भन्दा कम कृषि क्षेत्रमा अवसर हुनु हो । यस्तै, गाउँ छाडेर सहरमा बस्ने प्रवृत्ति बढ्दै गएको कारणले पनि गाउँघरका जमिन बाँझो हुने अवस्थामा पुगेको छ ।
पहाडी र हिमाली क्षेत्रमा खेती गर्नेको संख्या घट्दै गएको छ । कृषिमा जङ्गली जनावरलगायत असिना पानीबाट हुने क्षति बढ्दो छ ।
गाउँ छाडेर सहरमा बस्ने प्रवृत्ति बढ्दै गएको छ । गाउँमा अवसर नभएको भन्दै जनशक्ति सहर केन्द्रित भएकाले गाउँघरका जमिन बाँझो हुने अवस्थामा पुगेको छ । यसका साथै बाह्रै महिना सिँचाइ सुविधा पुग्ने ३५ प्रतिशत पनि जमिन नभएको, टेक्नोलोजीको सहयोग पु¥याउन कठिन, बिउबिजनको सुविधामा समस्या लगायतका कारण पनि जमिन बाँझो रहने गरेको उनीहरुको भनाइ छ ।
कार्यक्रममा नेपाली कांग्रस निकटको नेपाल किसान महासंघका अध्यक्ष गणेश तिमल्सिना, डा सूर्य पौडेल, आयोजक समितिका अध्यक्ष हरिवोल भटराईलगायतले पनि कृषि क्रान्तिमा जोड दिए ।
भूमि उपयोगका हिसाबले नेपालमा हाल कुल भूभागको करिब २७ प्रतिशत खेतीयोग्य, ३९ दशमलव ६ प्रतिशत वन क्षेत्र, १२ प्रतिशत चरन क्षेत्र, १७ दशमलव २ प्रतिशत हिउँ तथा चट्टान क्षेत्र तथा २ दशमलव ६ प्रतिशत जलक्षेत्र छ ।