चाईल्ड नेपालको १७ औं वार्षिकोत्सव तथा साधारणसभा सम्पन्न
असोज २५, २०७८, सोमबार | दिउँसो १२:१६ बजे | 35
काठमाडौं ः बालअधिकार र बालबालिकाहरुको क्षेत्रमा क्रियाशील संस्था चाईल्ड नेपालको १७ औं वार्षिकोत्सव तथा साधारणसभा भर्चुअल माध्यामबाट सोमबार सम्पन्न भएको छ ।
बालबालिकाको क्षेत्रमा कार्यरत सो संस्थाले बालबालिकाहरु सम्बन्धी विभिन्न जिल्लामा कार्यक्रमहरु गर्दै आइरहेको छ । अहिले कोभिडबाट थलिएका कारण विभिन्न विद्यालयहरुमा विद्यार्थीहरुका लागी मनोसामाजिक कार्यक्रमहरु संचालन गर्ने तयारी गरिरहेको संस्थाका निर्देशक मोहन दंगालले वर्षभरिको कार्य प्रगति विवरण प्रस्तुत गर्ने क्रममा बताएका थिए ।
कार्यक्रममा संयुक्त राष्ट्र संघीय बालअधिकार सम्बन्धी महासन्धिको सञ्चार प्रक्रियासम्बन्धी तेस्रो इच्छाधीन आलेखको अनुमोदनका लागि नागरिक समाजको साझा धारण स्थापना गर्न सफल भएको साथै इच्छाधीन आलेखको अनुमोदनका लागि राजनैतिक तथा सरकारी तहमा वातावरण निर्माणका लागि पहलको सुरुवात गरेको जस्ता सकरात्मक प्रयासहरु भैरहेको दंगालले बताए ।
कार्यक्रममा वरिष्ठ मानव अधिकारकर्मी प्रा. कपिल श्रेष्ठ, बाल अधिकारकर्मीहरु तारक धिताल, ऋतु भट्ट, कृष्ण थापा, नरेन्द्र डङ्गोल, उद्धवराज पौड्याल, तिलोतम पौडेल, सिविन नेपालका माधब प्रधान र राष्ट्रिय मानव अधिकार आयोगका मुरारी खरेल लगायतले बालबालिकाको हक र अधिकारका बारेमा आ–आफ्नो विचार प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संस्थाले गरेका बालअधिकार पैरवी, स्थानीय तहमा भएको प्रयासहरुलाई प्रशंसा गर्दै आगामी दिनमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सहभागीहरुले सुझाव दिएका थिए ।
कार्यक्रममा डा. कृष्ण सुवेदीले संस्थाको काम कर्तव्यप्रति सधैं जागरुक र क्रियाशील रहेकाले आगामी दिनमा सम्पूर्ण बालबालिकाको क्षेत्रमा क्रियाशील अधिकारकर्मीहरुको अभियान जोडेर साझा राष्ट्रिय महाअभियानको रुपमा प्रस्तुत हुन आह्वान गरेको बताए ।