नर्सहरुको भाषा र व्यवहारबाट सेवा प्रवाहमा सकारात्मक भूमिका खेल्ने
असोज १५, २०७८, शुक्रबार | दिउँसो ०१:०८ बजे | 35
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले अस्पतालबाट गुणस्तरीय सेवा प्रवाह गर्नका लागि व्यवस्थापन पक्ष बलियो हुनुपर्ने बताउनुभयो ।
शुक्रबार ख्वप अस्पतालका स्टाफ नर्सहरुसँगको भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष बिजुक्छेँले ख्वप अस्पताल स्थापनाको उद्देश्य तथा अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा कर्मचारीहरुको काम, कर्तव्यहरुबारे प्रशिक्षित पार्नुभयो ।
जनताको साथ र सहयोगबाट निर्माण भएको ख्वप अस्पतालको सेवाबाट जनताको विश्वास कायम हुने गरी सेवा गर्नुपर्नेमा जोड दिनुहुँदै उहाँले ख्वप अस्पतालले समाजवादी सिद्धान्तअनुरुप जनताको निःस्वार्थ रुपमा सेवा गर्नुपर्छ भन्नुभयो ।
उहाँले जनताको सांस्कृतिक स्तर उठ्न समय लाग्ने बताउनुहुँदै जनताको चेतनास्तर उकास्न र नागरिक भावना जागृत गर्न व्यवहारिक तथा राजनीतिक कक्षाहरु सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
ख्वप अस्पतालमा कार्यरत चिकित्सकहरुले व्यक्तिगत स्वार्थको लागि नभई समाजको हितको निम्ति काम गर्ने विश्वास राख्नुहुँदै अध्यक्ष बिजुक्छेँले भन्नुभयो, हामीले गरेको असल कामले समाजलाई पनि राम्रो बनाउँछ ।
अस्पतालमा कार्यरत नर्सहरुको भाषा र व्यवहारबाट सेवा प्रवाहमा सकारात्मक भूमिका खेल्ने बताउनुहुँदै उहाँले सेवाको माध्यमबाट जनताको विश्वास जित्ने उद्देश्य नेमकिपाको भएको बताउनुभयो ।
सोही क्रममा ख्वप अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अस्पतालबाट हुने सेवा प्रवाहमा जनताको गुनासो र विरोध हुने कुनै पनि काम नगर्न सचेत पार्नहुँदै चिकित्सकहरुको असल व्यवहारका कारण जनताको अस्पतालप्रति अपनत्व कायम हुने बताउनुभयो ।
उहाँले ख्वप अस्पतालले अरु अस्पतालभन्दा फरक ढंगले सेवा दिनेमा क्रियाशील रहने बताउनुहुँदै भक्तपुर नपाको काम र सेवाप्रति जनता खुशी भएका कारण अक्सिजन प्लान्ट निर्माणमा अपार साथ र सहयोग रहेको बताउनुभयो ।