भक्तपुरमा २० जना साँस्कृतिक गुरुहरु सम्मानित
असोज ११, २०७८, सोमबार | दिउँसो ०२:५२ बजे | 60
विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर नगरपालिकाकाले नगरका २० जना सांस्कृतिक गुरुहरुलाई सम्मान गरेका छन्। सोमबार एक कार्यक्रमविच प्रत्येक वडाका दुई दुई जना गरी जम्मा २० लाई सम्मान गरिएको हो।
नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले सांस्कृतिक गुरुहरुलाई रु. १५,०००।– नगदसहित प्रशंसा पत्र प्रदान गरेका थिए। साथै सांस्कृतिक गुरुहरुलाई प्रमुख प्रजापतिले दोसल्ला ओढाउने र उपप्रमुख जोशीले साँस्कृतिक गुरुहरुलाई पूmलमाला लगाइ दिएका हुन्।
विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर नगरपालिकाकाले नगरका सांस्कृतिक गुरुहरुलाई सम्मान गर्दै आएको नगरपालिकाले जनाए। २०५४ सालदेखि सम्मान गर्न थालेको जनाएको छ।
हरेक वर्ष नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नरायणमान बिजुक्छेँले सांस्कृतिक गुरुहरुको ज्ञान, विवेक र सीप नयाँ पुस्तामा पुस्तान्तरण गर्नुपर्नेमा जोड दिएका थिए। भक्तपुरको कला, संस्कृति र भाषा स्थानीय व्यक्तिहरुलाई सिकाउँदै लानुपर्ने उनले बताए।
राजनीतिक अस्थिरताका कारण नयाँ पुस्तामा राजनीतिप्रति वितृष्णा देखिनु चिन्ताजनकभएको औंल्याउनुहुँदै उहाँले राजनीतिशास्त्र, इतिहास, भूगोल र संस्कृतिजस्ता विषयको महत्वबारे विद्यार्थीहरुलाई जानकार गराउनुपर्ने र सरकारले यस्ता महत्वपूर्ण विषय अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिएर अध्ययन अध्यापनमा जोड दिनुपर्ने बताए।
भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले कला र संस्कृति संरक्षणका विभिन्न विधाका स्थानीय सांस्कृतिक गुरुहरुको सम्मानलाई निरन्तरता दिँदै आएको जानकारी गराए। प्रमुख प्रजापतिले भूकम्पबाट क्षतिग्रस्त सांस्कृतिक एवम् ऐतिहासिक सम्पदा पुनःनिर्माणका कार्य करिब करिब अन्तिम चरणमा पुगिसकेको बताए।
नेमकिपाका केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाई मौलिक भाषा, कला र संस्कृति संरक्षण गर्दै नयाँ पुस्तालाई आवश्यकताबोध गराउनु आजको आवश्यकता रहेको औंल्याए। सांसद गोसाईंले हाम्रो संस्कृतिलाई जीवन्त बनाउँदै लानुपर्ने र आफ्नो विधाको सीप र ज्ञानलाई लिपिबद्ध गर्न सके हाम्रो कला र संस्कृति संरक्षण हुँदै जाने बताए।
संस्कृतिविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले नेपाल मण्डलको अन्य सहरले भन्दा भक्तपुरले सांस्कृतिक गरिमा कायम गर्दै आएको बताउँछन््। भक्तपुरलाई खुला आकासमुनिको खुला संग्रहालयको रुपमा चित्रण गरे। साथै उनले विश्वविद्यालयहरुमा संस्कृति विषय अध्ययन गर्ने विद्यार्थीहरुको संख्या घट्नुमा चिन्ता प्रकट गर्नुभयो ।
आज सम्मानित भएका व्यक्तित्वहरु
आज सम्मानित सांस्कृतिक गुरुहरुमा भनपा वडा नं. १ का गोविन्द भुजु र विकुबहादुर दुवाल, वडा नं. २ का विष्णुभक्त सुवाल र लक्ष्मीभक्त कुस्मा, भनपा ३ का लक्ष्मीप्रसाद मानन्धर र गणेशबहादुर त्वायना, भनपा ४ का मंगलाल ग्वाछा र लक्ष्मीभक्त घेमोसु, भनपा ५ का रामलाल माक र रत्नभक्त ध्वजु, भनपा ६ का विष्णु सुवाल र विष्णुभक्त सिजख्व, भनपा ७ का दिलबहादुर त्यात र इन्द्रबहादुर लाखा, भनपा ८ का बुद्धिसागर प्रजापति र रामभक्त गणेजु श्रेष्ठ, भनपा ९ का विष्णुभक्त कुसी र मानबहादुर चोलेखो, भनपा १० का हरिभक्त मगजु र शिवभक्त वनमाला रहेका छन्।
बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँले विश्व पर्यटन दिवसको अवसरमा आयोजित टुर गाईड तालिमका सहभागी स्थानीय पथ प्रदर्शकहरुलाई प्रमाणपत्र वितरण गरेका थिए।