असाहायाका सहारा वन्दै सामाजिक अभियन्ता ताराबहादुर
असार २९, २०७७, सोमबार | दिउँसो ०१:१३ बजे | 30
असाहायाका सहारा वन्दै सामाजिक अभियन्ता ताराबहादुर
काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिएसँगै सरकारले गत चैत ११ गतेदेखि मुलुकैभरी लकडाउन गरेको छ । जेठ २८ देखि सरकारले केही मात्रामा लकडाउन खुकुलो गरेको छ । लकडाउन भएको तीन महिना पुग्नै लाग्दा मजदूर वर्गले ठूलो संकट भोग्नु परेको छ । लकडाउन भएपछि केही मजदूरहरु हिँडेरै आफ्नो घरमा पुगे भने केही मजदूर अझै काठमाडौँमै छन् । काम पनि नहुने र पैसा पनि नहुँदा मजदूरहरु खानै नपाई मर्ने अवस्था नहोस् भन्ने उद्देश्यले सामाजिक अभियन्ता ताराबहादुर कुँवर ती असहायहरुको सहारा बनेका छन् । लकडाउन सुरु भए यता नै उनले असाहय मजदूर वर्गलाई राहत वितरण गर्दै आएका छन् ।
उनले काठमाडौँ महानगरपालिका बाफल र त्यस आसपासका स्थानमा रहेका मजदूर, विद्यार्थी र असाहयहरुलाई राहत वितरण गर्दै आएका छन् । उनले हालसम्म १३ औँ चरणको राहत वितरण गरिसकेका छन् । सामाजिक अभियन्ता कुँवर सोमबार पूर्वखेलकुद मन्त्री राजनकुमार केसीको प्रमुख आतिथ्यमा ४३ जना रिक्सा चालकलाई राहत तथा सम्मान गरेका थिए । लकडाउनको पाँचौँ चरणसम्म उनले एक्लै राहत वितरण गरे भने पछिल्ला राहत वितरणमा अरु विभिन्न व्यक्तिहरु पनि उनीसँग यसमै जोडिएका छन् । लकडाउन शुरु भएदेखि हालसम्म उनले १ हजार ५० जनालाई राहत वितरण गरेका छन् । सो राहत वितरणका लागि करिब १३ लाख रुपैँयाँ खर्च भएको उनले बताए ।
उनले अप्ठ्यारोमा परेका अशक्त, अपाङ्गता भएका नागरिक, सुत्केरी, एकल महिला, दृष्टिविहिन, वृद्धवृद्धा, मजदूर र विद्यार्थी लगायतलाई राहत वितरण गर्दै आइरहेका छन् । शुरुमा प्रत्येक परिवारलाई एक, एक बोरा चामल वितरण गरिएको थियो । पछि २ परिवारलाई एक बोराका दरले वितरण गरियो । लकडाउन पनि बढ्दै गएको र समस्यामा परेका नागरिक पनि थपिंदै गएपछि सबैलाई समान रुपमा पुर्याउनका लागि हाल १०र१२ केजी चामल, दाल, आलु, नुन एक, एक केजी, तेल र साबुन लगायतका राहत सामग्री वितरण गरिने गरिएको कुँवर बताए ।
कुँवर हेभी इक्युपमेन्ट एसोशिएसनका अध्यक्ष पनि हुन् । उनी लकडाउनका कारण आफ्नो कारोबारमा घाटा परे पनि वेसाहाराहरुको साहारा बन्न सकेकोमा खुशी व्यक्त गर्छन् । ‘आफ्नो व्यापारमा घाटा परे पनि अरुलाई सहयोग गर्न पाउँदा निकै खुशी छु ।’ उनले भने । राहत वितरण गरेको तस्विरहरु सार्वजनिक गर्दा विरोध भइरहेको सन्दर्भ स्मरण गर्दै आफूले काम गरेपछि सार्वजनिक किन गर्न नपाइने ? भन्ने उनको धारणा छ । राहत वितरण सामाजिक संजालमा राख्दैमा त्यसले खासै असर नगर्ने कुँवर बताउँछन् ।