पैसा उठाएर सार्वजनिक कार्यक्रम


असार २७, २०७७, शनिबार | दिउँसो ०२:३७ बजे | 35


पैसा उठाएर सार्वजनिक कार्यक्रम !
भक्तपुर । भक्तपुरको मध्यपुर थिमिमा शनिबार प्रवेश शुल्क उठाएर सार्वजनिक कार्यक्रम गरेको छ । प्रतिव्यक्ति दुई सय रुपैयाँं प्रवेश शुल्क उठाएर शनिबार मध्यपुर थिमिमा एउटा पोखरीको उदघाटन कार्यक्रम गरिएको हो । मध्यपुर थिमि नगरपालिका वडा नं ४ स्थित ऐतिहासिक निगुः पुखु (दुईपोखरी) को उदघाटन तथा साँस्कृतिक कार्यक्रम कार्यक्रममा सहभागी हुने व्यक्तिहरुसँंग प्रति व्यक्ति दुई सय शुल्क उठाएर कार्यक्रम गरेको हो ।
दुईपोखरीस्थित दुई पोखरीहरुमध्ये एक वटा पोखरीको पुननिर्माण सम्पन्न भएको हो । सँंगै रहेको उही आकारको ठूलो पोखरीको पुननिर्माणको काम भने जारी छ । मध्यपुर थिमि नगरपालिकाको बजेटबाट निगुः पुखु पुनः निर्माण गुरुयोजना कार्यान्वयन उपभोक्ता समितिमार्फत् एउटा पोखरीको पुननिर्माण सम्पन्न गरिएको हो ।
सार्वजनिक कार्यक्रममा सहभागी हुनेहरुमध्ये पोखरीभित्रै पुगेर कार्यक्रममा सहभागी हुने व्यक्तिहरुसँं शुल्क उठाइएको हो । कार्यक्रम आयोजकहरुका अनुसार कार्यक्रममा सहभागी हुने दुई सय विशिष्ठ व्यक्तित्वहरुलाई पहिला नै निमन्त्रणा कार्ड वितरण गरिएको थियो । निमन्त्रणा कार्डमै कार्यक्रममा सहभागी हुन दुई सय रुपैयाँं सहित कार्ड ल्याउन सूचित गरिएको थियो । यसबाहेक पनि कार्ड नभएकाहरुलाई पनि दुई सय रुपैयाँं प्रवेश शुल्क तिरेर पोखरी उदघाटन कार्यक्रमका लागि पोखरीभित्र जान पाइने व्यवस्था यहाँं मिलाइएको थियो । यसको लागि पोखरीको मुख्य गेटमा टिकट काट्नेहरु खटिएका थिए ।
कार्यक्रममा सहभागी हुन पोखरीभित्रै प्रवेश नगर्नेहरुले भने शुल्क तिर्नु पर्ने थिएन । उनीहरुले पोखरीकै छेउछाउ बसेर निशुल्क रुपमा उभिएर कार्यक्रम हेर्न सकिने व्यवस्था थियो । कार्यक्रमस्थल पोखरीभित्र धेरै व्यक्ति प्रवेश होला भनेर शुल्क उठाइएको जनाइएको छ ।
निगुः पुखु पुनः निर्माण गुरुयोजना कार्यान्वयन उपभोक्ता समितिकी सचिव सरु श्रेष्ठले प्रवेश शुल्कबाट उठेको रकमबाट एउटा कोष बनाउने र त्यो पोखरीकै लागि प्रयोग गरिने जानकारी गराइन् । कार्यक्रममा सहभागी हुन दुई सय जना विशिष्ट व्यक्तित्वहरुलाई दुई सय रुपैयाँं प्रवेश शुल्कसहित कार्यक्रममा सहभागी हुन  निमन्त्रणा कार्ड वितरण गरिएको उनले जनाइन् । कार्यक्रममा साँंस्कृतिक कार्यक्रममा सहभागी हुने कलाकारहरु, पोखरी पुननिर्माण उपभोाक्ता समितिका पदाधिकारीहरु  र कार्यक्रमका स्वयमसेवकहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको उनले जनाइन् ।
सार्वजनिक कार्यक्रममै शुल्क लगाएर प्रवेश गराइएको भन्दै एकथरी नगरबासीहरुले विरोध जनाएका थिए । कोरोनाको महामारीमा पनि ठूलो संख्यामा मानिस भेला गराई सार्वजनिक कार्यक्रम गरिएको भन्दै कार्यक्रमस्थलमै विरोध भएको थियो । यसपछि सामाजिक दुरी कायम गर्ने भन्दै आयोजकहरुले असफल प्रयास गरेका थिए । पोखरीको उदघाटन मेयर मदनसुन्दर श्रेष्ठले गरेका थिए ।  


Comments