वाकुपति नारायण मन्दिर परिसरभित्रका पाटी र ढुंगेधाराको उद्घाटन सम्पन्न
असार २७, २०७७, शनिबार | दिउँसो ०१:४० बजे | 25
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वाकुपति नारायण मन्दिर परिसरभित्र हालै पुनःनिर्माण र जीर्णोद्धार गरिएको द्यो पमी फल्चा पुनःनिर्माण, वाकुपति नारायण दक्षिण सत्तलको पहिलो भुइँ मर्मत, वाकुपति नारायण ढुंगेधारा मर्मत र उत्तरपूर्वमा अवस्थित दक्षिणाभिमुख वाकुपति नारायण पाटी पुनःनिर्माण कार्यको संयुक्त उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले सांस्कृतिक तथा ऐतिहासिक महत्वका सम्पदाहरुको पुनःनिर्माण तथा जीर्णोद्धार कार्य जनसहभागिता जुटाई उपभोक्ता समितिमार्फत गरिरहेको बताउनुभयो ।
नाफाको निम्ति व्यापार गर्ने ठेकेदारहरुलाई सम्पदा जीर्णाद्धारको जिम्मा दिन नहुने बताउनुहुँदै उहाँले भक्तपुरको ङातापोल मन्दिर जीर्णोद्धार कार्यमा करिब ४ हजारभन्दा बढी नगरबासीहरुबाट जनश्रमदान प्राप्त हुनु गौरवको विषय भएको बताउनुभयो । साझा सम्पदाहरुको निर्माणमा सबैले साझा जिम्मेवारी बहन गर्नु आजको आवश्यकता भएको बताउनुहुँदै उहाँले भक्तपुर नगरपालिकाले पुर्खाको लागि गौरव गर्न लायक सम्पदाहरुको जीर्णोद्धार र मर्मत कार्यहरुलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको छ भन्नुभयो ।
भक्तपुर नगरपालिकाको वडा बजेटअन्तर्गत वाकुपति नारायण दक्षिण सत्तलको पहिलो भुइँ मर्मत रु. ५ लाख २० हजार ४ सय ८९ रुपैयाँ, द्यो पमी फल्चा रु. रु. १४ लाख ९७ हजार ८ सय ९७ रुपैयाँ र उत्तरपूर्वमा अवस्थित दक्षिणाभिमुख वाकुपति नारायण पाटी पुनःनिर्माण रु. १८ लाख २९ हजार २ सय ८० रुपैयाँ लागतमा सम्पन्न भयो । पाटी पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्षहरुमा रबिन्द्र कुसी, गोपालकृष्ण श्रेष्ठ र कृष्णगोपाल प्रजापति क्रमशः रहनुभएको छ । साथै वाकुपति नारायण ढुंगेधारा मर्मत कार्यमा दाताहरु स्व. सरस्वती प्रजापति र इन्द्रप्रसाद प्रजापतिले ७७ हजार ४ सय ७८ रुपैयाँ आर्थिक सहयोगमा सम्पन्न भएको थियो ।