काभ्रेको केन्द्रीय जिल्ला इन्चार्ज पूर्वराज्यमन्त्री सुर्यमान दोङ ‘लालध्वज’


भदौ ९, २०७८, बुधबार | दिउँसो ०१:४९ बजे | 25


काभ्रेको केन्द्रीय जिल्ला इन्चार्ज पूर्वराज्यमन्त्री सुर्यमान दोङ ‘लालध्वज’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले जिल्ला तहसम्मको नेतृत्व टुंगो लगाएको छ । माओवादी केन्द्रको हालैको केन्द्रीय समितिको बैठकको निर्देशन तथा स्थायी कमिटि बैठकको निष्कर्ष अनुसार केन्द्रका सबै विभाग, जनवर्गीय संगठनको इन्चार्जसहित प्रदेशका इन्चार्ज, सह इन्चार्ज र जिल्लाका इन्चार्जहरुको टुंगो लगाएको हो ।

यही क्रममा काभ्रेको लागि केन्द्रीय प्रतिनिधिको रुपमा पूर्वराज्यमन्त्री सुर्यमान दोङ ‘लालध्वज’ जिल्ला इन्चार्ज छानिएका छन् । उनी यसअघि पनि काभ्रेको इन्चार्ज भइसकेका व्यक्ति हुन् । पार्टी र कार्यकर्तामाझ लोकप्रिय र प्रभावशाली नेतृत्वको छाप छाड्न सफल लालध्वजले इन्चार्जको जिम्मेवारी पाएसँगै पार्टी र संगठनलाई क्रियाशील र सक्रिय बनाउन आफूले सबैको सहयोगमा भूमिका निर्वाह गर्ने बताए ।

त्यसैगरी नेकपा माओवादी केन्द्रले पार्टी प्रवक्ताको जिम्मेवारीमा कृष्णबहादुर महरालाई तोकेको छ। पूर्वसभामुखसमेत रहेका महरालाई प्रवक्ताको जिम्मेवारीमा माओवादीले ल्याएको हो। पहिले माओवादी प्रवक्तामा पम्फा भुसाल थिइन्। माओवादीले एमालेसँग पार्टी एकता गरेपछि प्रवक्ताको जिम्मेवारीमा नारायणकाजी श्रेष्ठ थिए।

फागुन २३ मा सर्वोच्च अदालतले एमाले र माओवादीलाई पुनः अस्तित्वमा ल्याइदिएपछि नेता श्रेष्ठले नै माओवादीमा प्रवक्ताको भूमिका निर्वाह गरेका थिए। पछिल्लो समय श्रेष्ठ यो भूमिकाबाट अलग हुन चाहेको बताएका थिए। त्यसपछि माओवादीले प्रवक्तामा महरालाई ल्याएको हो।

यस्तै माओवादीले प्रचार तथा प्रकाशन विभाग प्रमुखको समेत जिम्मेवारीमा महरालाई तोकेको हो। भदौ ६ मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको परिपत्रमा नेताहरूलाई जिम्मेवारी दिइएको उल्लेख छ।

केन्द्रीय कमिटी र स्थायी कमिटी बैठकका निर्णयअनुसार माओवादीले प्रदेश समिति, पार्टी विभाग, जिल्ला ईञ्चार्जहरूसमेत तोकेको छ।

प्रदेश नम्बर १ मा सुरेन्द्र कार्की ईञ्चार्ज छन् भने अध्यक्षमा सुरेन्द्रकुमार राईलाई तोकिएको हो। प्रदेश नम्बर २ को ईञ्चार्जमा गणेश शाह छन्। यहाँ अध्यक्ष तोक्न बाँकी छ। बागमती प्रदेशको ईञ्चार्जमा हितमान शाक्य र अध्यक्षमा नारायण दाहाल छन्।

गण्डकी प्रदेश ईञ्चार्जमा हितराज पाण्डे र अध्यक्षमा हरि अधिकारीलाई तोकेको माओवादीले जनाएको छ। साथै लुम्बिनीको ईञ्चार्जमा चक्रपाणी खनाल बलदेव र अध्यक्षको जिम्मेवारी ओनसरी घर्तीले पाएकी छिन्।

कर्णालीमा ईञ्चार्ज शक्ति बस्नेत र अध्यक्ष राजकुमार शर्मा छन् भने सुदूरपश्चिम प्रदेश ईञ्चार्जमा खगराज भट्ट छन्। यहाँ अध्यक्ष तोक्न बाँकी छ। अधिकांश प्रदेशमा सहईञ्चार्ज तोकिएका छन् तर सचिव चयन गर्न बाँकी राखिएका छन्।

माओवादीले विशेष समिति ईञ्चार्जमा लिलामणि पोखरेल र अध्यक्षमा लेखनाथ न्यौपानेलाई तोकेको छ। प्रवास समिति ईञ्चार्जमा नारायणकाजी श्रेष्ठ र अध्यक्षमा ओम शर्मालाई जिम्मेवारी दिइएको छ।

Comments