आज क्वाटी पुन्हीमा भ्यागुतोलाई भोज


2021-08-22 02:03:03

News Image

गुन्हिपुन्हीको पहिलो दिनलाई नेवार समुदायले क्वाटी पुन्ही मनाउने गर्दछ । यसलाई नेपाली भाषामा जनैपूर्निमा र रक्षाबन्धन पनि भन्ने गर्छ । गुन्हिपुन्ही नेवार समुदायमा मनाउने पर्वमध्ये एक हो । साउन शुक्लपक्षका दिन यो पर्व मनाउने गरिन्छ ।
क्वाटी पुन्ही भनेसंगै क्वाटी बनाएर आफू मात्रै खाने होला भन्ने मनमा आउन सक्छ तर भक्तपुरमा भने क्वाटी आफूले मात्र नखाई भ्यागुतोलाई समेत खुवाउने परम्परा चलिआएको छ ।
यही क्रममा भक्तपुरका किसानले आआफनो खेतसम्म पुगेर भ्यागुतालाई भोज खुवाएका छन् । धेरै ठाउँंमा खेतबारी हुनेहरुले पनि सवै खेतसम्मै पुगेर भ्यागुतालाई भोज खुवाएका हुन् । परिवारका एकएक जना सदस्य खेतमा पुगेर किसानले भ्यागुतालाई भोज खुवाएका हुन् ।
प्रत्येक वर्ष गुन्हिपुन्हीको पहिलो दिन क्वाटी पुन्हीका दिन भ्यागुतालाई खेतखेतमा पुगेर भोज खुवाउने परम्परा यहाँं छ । यसलाई स्थानीय किसानहरु नेपाल भाषामा व्यां चा जानक वानेगू अर्थात् भ्यागुतालाई खाना खुवाउन जाने भनेर भन्छन्, जहाँं ब्यांको अर्थ भ्यागुतो र जानक वानेगूको अर्थ खाना खुवाउन जाने भन्ने बुझिन्छ ।

विहानैदेखि आआफनो खेतमा पुगेर भ्यागुतालाई भोज खुवाउन जाने किसानहरु जताततै भेटिएका थिए । एकाविहानै खेतखेतमा पुगेर किसानहरु आफना खेतका भ्यागुतालाई खाना खुवाउन हिडेका थिए । कोही हिडेर, कोही साइकलमा त कोही मोटरसाइकलमै चढेर पनि भ्यागुतालाई भोज खुवाउन आआफनो खेतमा पुग्न भ्याएका थिए ।
[[img2]]

विहानै सूर्यविनायकस्थित आर्दशमा आफनो खेतमा भ्यागुतालाई भोज दिन पुगेकी सुशिला खाइतुले परम्परा अनुसार प्रत्येक वर्ष जस्तै आफनो खेतका भ्यागुतालाई भोज खुवाउने हिडेको बताइन् । परम्परा अनुसार खेतमा पुगेर भ्यागुताको भोज खेतमा छोड्ने चलन छ । भ्यागुताको भोजको परिकारलाई पातमा राखेर आआफनो खेतको आलीमा छोडेर आउने परम्परा छ ।
भोजका परिकारका रुपमा किसानले क्वाती, फलफूल, चामलको भात, सुपारीललगायतका खाद्य सामाग्री राखेका हुन्छन् । खाद्यान्नकासाथै किसानले भ्यागुतालाई श्रृंगारपटारका सामान पनि लिएर जाने परम्परा छ । ऐनालगायतका श्रृंगारपटारका सामान लिएर जाने परम्परा छ । मुलालाई काटेर सिन्काले चोपेर तयार पारिनुलाई भ्यागुताका लागि ऐना नाम दिइएको छ ।
भ्यागुतालाई भोज राख्न जाने क्रमम खुवाउन जाने किसानले पनि त्यही आफूले पनि भोज खाएर आउनुपर्छ भन्ने चलन रहेको छ । यसका लागि घरबाट खेत जानु अगाडि नै भ्यागुतालाईसहित आफूलाई पनि रोटी, क्वाटीसहितको परिकार लिएर जाने चलन अझैसम्म जस्ताको तस्तै छ ।

संस्कृतिविद् ओम धौभडेलले किसानको सहयोगीको रुपमा रहेकोले भ्यागुतालाई सम्मानका साथ भोज खुवाउने परम्परा चलिआएको सुनाउँंछन् । आफनो बालीनाली संरक्षणमा सहयोग गरेको कदर गर्दै किसानले भ्यागुतालाई वर्षमा एक पटक भोज खुवाउने परम्परा अहिले पनि जस्ताको तस्तै रहेको इतिहासविद् धौभडेलले बताए  । ‘भ्यागुतालाई नखुवाई घरका कसैले पनि क्वाँटी खाँदैन्न्, उनले भने । वर्षा गराउने दूत तथा प्राकृतिक देवताको प्रतीकका रूपमा भ्यागुतोलाई लिने गरेको उनले बताए । त्यसैले अहिले पनि भ्यागुतोलाई सबैभन्दा पहिले खुवाउने चलन चलिआएको उनले सुनाए ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *