नगर प्रमुख प्रजापतिद्वारा नेपाल बैंक लिमिटेडको एक्सटेन्सन काउण्टर शुभारम्भ
भदौ १, २०७८, मङ्गलबार | विहान ०८:४४ बजे | 30
भक्तपर । नेपाल बैंक लिमिटेड भक्तपुर शाखाले भक्तपुर नपा वडा नं. दुढपाटीस्थित एक्सटेन्सन काउण्टर सञ्चालनको कार्य आजदेखि शुभारम्भ गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उक्त एक्सटेन्सन काउण्टरको आज एक समारोहबीच रीबन काटेर उद्घाटन गर्नुभयो ।
शुभारम्भ कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले नेपाल बैंक लि. जनताले बढी विश्वास गरेको बैंक भएको र भक्तपुर नगरपालिकाले सरकारको लगानी भएको बैंकलाई प्रोत्साहित गर्न नगरपालिकाका कारोबारहरु यसै बैंकमार्फत गरिरहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले सिंहदरबारभित्र हुने सबै आर्थिक कारोबार विदेशी लगानी भएको बैंकमार्फत हुँदै आएकोप्रति आपत्ति जनाउनुहुँदै यसबाट बैंकमार्फत नेपालका महत्वपूर्ण व्यक्तिको सूचना बाहिरिने सम्भावना भएको बताउनुभयो । सिंहदरबारभित्र सरकारी स्वामित्वकै बैंकमार्फत कारोबार गर्नुपर्ने धारणा उहाँले राख्नुभयो ।सरकारले विदेशी लगानी भएका निजी बैंकहरुलाई प्राथमिकतामा राखेकै कारण सरकार मातहत सञ्चालन भएका बैंकहरु डुब्ने खतरा बढेको छ, उहाँले भन्नुभयो — भक्तपुर नगरपालिकाले निजी क्षेत्र, सरकारी तथा गैरसरकारी संस्थाहरुलाई निरुत्साहित गर्दै आइरहेको छ ।
भक्तपुर क्याम्पस प्रमुख डा. कृष्णप्रसाद पोखरेलले नेपाल बैंक लि. नेपालकै पुरानो र गौरव बोकेको संस्था भएको बताउनुहुँदै बैंकले सेवाग्राहीहरुलाई नयाँ प्रविधि र नयाँ सेवा सुविधाहरु प्रदान गर्दै आइरहेको छ भन्नुभयो ।नेपाल बैंक लि. बागमती प्रदेशका प्रमुख निलुजा श्रेष्ठले सबैको मायाले संस्था सञ्चालन गर्न हौसला प्राप्त भएको बताउनुहुँदै नेपालका निजी बैंकहरुसँग प्रतिस्पर्धा गर्दै नेपाल बैंक लि. ले उत्कृष्ट सेवासुविधा प्रवाह गर्दै आएको र बागमती प्रदेशको १३ वटै जिल्लामा शाखा रहेको र १६ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर शाखाका दीपा पनेरु, शाखा प्रबन्धक विष्णुमान भैलले पनि बोल्नुभएको थियो ।