नगर प्रमुख प्रजापतिद्वारा सुकुन्दा साकोसको कृषि सेवा शुभारम्भ


भदौ १, २०७८, मङ्गलबार | विहान ०७:२० बजे | 40


नगर प्रमुख प्रजापतिद्वारा सुकुन्दा साकोसको कृषि सेवा शुभारम्भ

भक्तपुर । भक्तपुरको जगातीमा अवस्थित सुकुन्दा बचत तथा ऋण सहकारी संस्था लि. मा आजदेखि सुरु कृषि सेवाको शुभारम्भ गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सुकुन्दा साकोसमा अन्नबाली, फलफूल, रोगकिरा समस्या पहिचान र समाधानबारे परामर्श सेवा तथा प्रयोगशालाको मंगलबार एक समारोहबीच उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले अन्नबालीमा लाग्ने रोगको पहिचान गरी कृषकलाई परामर्श तथा सल्लाह दिने कार्यको शुभारम्भ हुनु समग्र भक्तपुरबासीहरूको निम्ति सुखद् पक्ष भएको बताउनुभयो ।


सहकारी संस्थाबाट सुरु भएको कृषि सेवा प्रभावकारी रुपमा कार्यानवयन हुनेमा विश्वास व्यक्त गर्नुहुँदै उहाँले भक्तपुर नपाले उन्नत जातको धान, गहुँ र आलुको बीउ वितरण गरिरहेको, माटो परीक्षण, विषदी प्रयोगलगायतका तालिम सञ्चालन गरिरहेको र नगरबासी युवा कृषकहरूलाई लक्षित गर्दै आधुनिक शैलीको खेतीबारे पनि तालिम सञ्चालनमा जोड दिँदै आएको बताउनुभयो ।
सरकारले कृषिजन्य वस्तुको उत्पादन बढाएर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुहुँदै प्रमुख प्रजापतिले नेपालमै रसायनिक मल कारखाना स्थापना गर्नेबारे नेपाल सरकारको ध्यानार्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘कृषि सेवाबाट किसानले आफ्नो बारी तथा खेतमा देखिएका समस्या, किरा लाग्ने, माटोको गुणस्तर तथा विविध जानकारी समयमै थाहा पाउने उल्लेखनीय काम भएको छ ।’ कृषकहरूमा सैद्धान्तिक ज्ञानको कमीले गर्दा कृषि उत्पादनमा ¥हास आएको बताउनुहुँदै उहाँले नेपालभरका किसानलाई कृषि प्रविधिसँग जोड्नु ठूलो उपलब्धी हुने बताउनुभयो ।
[[img2]]
कार्यक्रममा भक्तपुर नपाद्वारा गठित कृषि समितिका संयोजक राजकृष्ण गोराले अन्नबालीको रोग पहिचानबारे परामर्श सेवा बहुसंख्याक किसानहरूको हितमा रहेको बताउनुहुँदै नेपाल सरकारले कृषि क्षेत्रलाई कमजोर बनाउने गतिविधिमा लागेको बताउनुभयो । उहाँले कृषिसम्बन्धी परामर्श सेवा अभावले किसानहरूको उत्पादनमा कमी आएको र कृषि क्षेत्रतर्फ आकर्षण पनि घटिरहेको छ भन्नुभयो ।

कार्यक्रममा भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले सहकारी संस्थाहरूबाट सञ्चालित कृषि सेवाबारे व्यापक प्रचारप्रसारको आवश्यकता औंल्याउनुहुँदै किसानहरूको अनुकूलतामा कृषि सेवा प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले कृषि क्षेत्रमा नयाँ प्रविधि, आधुनिकीकरण, वैज्ञानिकीकरण भए मात्रै देशलाई आत्मनिर्भ बनाउन टेवा पुग्ने बताउनुहुँदै भक्तपुर नगरपालिकाको स्वीकृति विना सञ्चालित सहकारी संस्थाहरूको अनुगमनमा तीव्रता दिइरहेको बताउनुभयो ।

कृषि विशेषज्ञ सबिन ख्याजुले सुकुन्दा साकोसले स्थानीय तहमै किसानको समस्या समाधान गर्ने कार्यको प्रशंसा गर्नुहुँदै संस्थाले अन्नबाली तथा फलफूलमा लाग्ने रोग किरा समस्या पहिचान गरी आवश्यक परामर्श दिनुका साथै उन्नत जातका बीऊ उत्पादनमा जोड दिने बताउनुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष सानुकाजी त्वानाबासु, सल्लाहकार नाति कवां, र सञ्चालक सानुकाजी चिकंबन्जारले पनि संस्थाको उद्देश्य, सेवा सुविधा र आगामी दिनमा नयाँ नयाँ कार्यक्रमहरू अगाडि बढाउँदै लाने विचारहरू व्यक्त गर्नुभयो ।

फाेटाेमा हेर्नुहाेस्...

नगर प्रमुख प्रजापतिद्वारा सुकुन्दा साकोसको कृषि सेवा शुभारम्भ

Comments