अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा प्रवचन कार्यक्रम


साउन ३०, २०७८, शनिबार | विहान ०५:५५ बजे | 35


अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा प्रवचन कार्यक्रम

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा प्रवचन कार्यक्रम
भक्तपुर । भक्तपुर नगरपालिका ७ नं. वडाको आयोजनामा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कोभिड १९ संक्रमण र नियन्त्रणमा युवाको भूमिका विषयमा शनिबार वडाका युवाहरुबीच प्रवचन कार्यक्रम सम्पन्न भयो ।


कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपालमा १६ देखि ४० वर्षका युवा वर्गको संख्या ४० प्रतिशतको हाराहारीमा रहेको बताउनुहुँदै युवाको विचार, क्षमता र योग्यता परिचालन स्वदेशमै गर्न सके युवा दिवस मनाउनुको सार्थकता रहने बताउनुभयो ।
भक्तपुर नगरपालिकाले युवा लक्षित तालिमहरुलाई प्राथमिकतामा राख्दै आएको बताउनुहुँदै युवा वर्गको विशिष्ट शक्तिलाई राष्ट्र निर्माणको सन्दर्भमा समेटिनु आजको आवश्यकता हो भन्नुभयो ।

युवा भनेका मानव जीवनमा जोश, जागर उत्साह र शक्ति भएको उमेर समूह हो भन्दै उहाँले युवाहरु उमेरसँगै विचार र सिद्धान्तले परिपक्व हुनुपर्ने र सक्षम जनशक्तिको योग्यता र क्षमता सदुपयोग भए देशको विकासले गति लिने बताउनुभयो ।
गरिबहरुको निम्ति पुँजीवादी व्यवस्था हितकर नभएको बताउनुहुँदै नगर प्रमुख प्रजापतिले युवा पुस्ताले व्यक्तिगत लाभ र फाइदा भन्दा पनि सेवाभावले काम गर्नुपर्ने बताउनुभयो । उहाँले संस्कृति र परम्पराबाट निम्तिने विकृतिबाट युवाहरु सचेत हुन जरुरी रहेको बताउनुहुँदै राजनीतिमा इमानदार व्यक्तिहरुको खाँचो रहेको औंल्याउनुभयो ।

भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले कोभिड रोकथाम तथा नियन्त्रणमा वडाका स्वयम्सेवक, युवा, स्वास्थ्यकर्मीहरुले निःस्वाथ रुपमा गरेको सेवाको लागि कृतज्ञता ज्ञापन गर्नुभयो । उहाँले कोभिड नियन्त्रणमा युवाहरुको सक्रियताले विशेष भूमिका खेलेको बताउनुहुँदै युवाहरुलाई राजनीतिक रुपमा सचेत र संगठित गर्ने काममा क्रियाशील रहेको बताउनुभयो ।
नेमकिपा वडा नं. ७ का पार्टी इन्चार्ज बलराम गोसाइँले युवाहरु राष्ट्रका भविष्य हुन्, नेपालमा २०७३ सालदेखि युवा दिवस मनाइँदै आएको बताउनुहुँदै राष्ट्र निर्माणमा सबै उमेर समूहका व्यक्तिहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

कार्यक्रममा नेक्रायुसंघ ७ वडा एकाइ समितिका अध्यक्ष राकेश सुकुपायो, भनपा वडा नं. ७ का वडा सदस्य हरिरत्न गोर्खाली, स्थानीय रन्जन कपालीले पनि बोल्नुभएको थियो ।

Comments