क्वाठण्डौंस्थित सरस्वती फल्चा शिलान्यास


साउन २९, २०७८, शुक्रबार | विहान ०६:४१ बजे | 30


क्वाठण्डौंस्थित सरस्वती फल्चा शिलान्यास

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. १० क्वाठण्डौंस्थित सरस्वती फल्चाको शुक्रबार एक समारोहबीच शिलान्यास गर्नुभयो । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त उक्त फल्चा  रु. २४ लाखको लगत इस्टिमेटमा भक्तपुर नगरपालिकाले पुनःनिर्माण गर्न लागेको हो ।
शिलान्यास कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले मौलिकता विनाको ऐतिहासिक सम्पदा पुनःनिर्माणको कुनै अर्थ नभएको बताउनुभयो । इतिहास जोगाएर भावी पुस्तामा हस्तान्तरण गर्ने काममा कुनै किसिमको हेलचक्र्याइँ गर्नुहुन्न, उहाँले भन्नुभयो — ‘सम्पदा पुनःनिर्माणको काम भनेको इतिहास निर्माण गर्ने काम हो । सयौं वर्ष टिक्ने यी सम्पदा पुनःनिर्माणको काम गुणस्तरीय हुनु जरुरी छ ।’
    भक्तपुर नगरपालिकाले नगरको सन्तुलित विकासमा जोड दिइरहेको बताउनुहुँदै उहाँले यस वर्ष भक्तपुर नपाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै जनस्वास्थ्य सेवा केन्द्रलाई ख्वप अस्पतालको रुपमा सञ्चालन गरी वडा वडामा स्वास्थ्य चौकी निर्माण, नगरबासीहरूलाई निःशुल्क अक्सिजन वितरणलगायतका जनतालाई प्रत्यक्ष फाइदा पुग्ने कार्यहरूलाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो ।
    भक्तपुर नगरपालिकाको बजेटमा उपभोक्ता समितिमार्फत सरस्वती फल्चा पुनःनिर्माण कार्य समयमै सम्पदा हुने विश्वास व्यक्त गर्नुहुँदै नगर प्रमुख प्रजापतिले जनताकै सक्रिय सहभागितामा फल्चा पुनःनिर्माणको काम छिटो र गुणस्तरीय ढंगले सम्पन्न गर्न प्रेरित गर्नुभयो ।    
    भक्तपुर नपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले वडाका विकास निर्माणका गतिविधिहरूबारे अवगत गराउनुहुँदै १० नं. वडामा थुप्रै ऐतिहासिक पाटीहरू रहेको हुँदा आवश्यकता र प्राथमिकताअनुसार सम्पदाहरूको पुनःनिर्माण कार्यलाई अगाडि बढाइरहेको बताउनुभयो । नगरपालिकाको काममा नगरबासीहरूको साथ र सहयोग भएकै कारण काम गर्न सजिलो भएको बताउनुहुँदै वडाध्यक्ष ह्यौंमिखाले भूकम्पले भत्किएका सम्पदा अझ राम्रो र बलियो ढंगले पुनःनिर्माण गर्ने अवधारणाका साथ अगाडि बढिरहेको बताउनुभयो ।
    भक्तपुर नगरपालिकाका पूर्व उपप्रमुख चैत्यराज शाक्यले विश्वव्यापी रुपमा फैलिएको कोभिड महामारीका कारण सांस्कृतिक एवम् ऐतिहासिक महत्वका सम्पदा पुनःनिर्माण कार्यमा केही ढिलाई भएको बताउनुहुँदै भक्तपुर नगरपालिकाले भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक सम्पदालाई मौलिक शैलीमा पुनःनिर्माणमा जोड दिइरहेको बताउनुभयो ।
    कार्यक्रममा भनपा वडा नं. १० का वडासदस्य जितेन्द्र मुनंकर्मी, सम्पदा शाखाका रामगोविन्द श्रेष्ठ, उपभोक्ता समितिका अध्यक्ष गणेशराम मुस्याख्व, समितिका कोषाध्यक्ष चन्चला मुस्याख्व र सचिव हरिराम कर्माचार्यले पनि बोल्नुभएको थियो ।

Comments