अट्टहास


साउन २८, २०७८, बिहीबार | दिउँसो ०२:२४ बजे | 40


अट्टहास

प्रकाशप्रसाद उपाध्याय


युवावस्थाका दिनका कुरा हुन । मेरा एक मित्र थिए । अहिले पनि छन् तर भौगोलिक दूरीका कारण अहिले एकार्कादेखि टाढा छौँ । रमाइलो र हँसिला स्वभावका भएकाले बेला–बेलामा उनको सम्झना भइरहन्छ । साहित्यप्रति रुचि भएकाले साहित्यिक शैलीमा प्रतीकात्मक कुरा गर्ने बानी छ उनको । पारिवारिक जमघट होस् कि सामाजिक, हामी उनका कुरा सुनेर रमाउँथ्यौँ । मेरा छोराछोरीहरू पनि रमाउँदथे उनका कुरा सुनेर । मेरो छोराको जिस्किने बानी छ । उनको फरासिलो स्वभाव थाहा पाएर होला उ सोध्दथ्यो – ‘अँकल, तपाईंको घर काँ अरे ?’

उनी भन्थे –‘म टीकाराम, मेरो टोलको नाउँ बजार सिताराम ।’ यो सुनेर छोरा दङ्ख पर्दथ्यो । हामी पनि हाँस्थ्यौँ । बेलाबखत भेट हुँदा पनि जब उ भन्दथ्यो –‘अँकल.....

उनी लगत्तै भनि हाल्दथे –‘बाबु, म टीकाराम, मेरो टोलको नाउँ बजार सिताराम ।’ यति भन्दै उनी जोडसित हाँस्दथे । वातावरण हाँसोका खित्काबाट गुँज्न थाल्थ्यो ।

लेखपढ गर्ने व्यक्ति थिए । लेखहरू प्रायः छापिन्थे । एक दिन सोधेँ – मित्र, यत्तिका लेख लेख्न कसरी भ्याउनु हुन्छ । कति बेला लेख्नुहुन्छ । दिनभरि त अफिस हुन्छ ।’

भन्न थाले – ‘हेर्नोस् मित्र कुरा के हो भने, म हिँडडुल गरिरहेको अवस्था होस् कि राति सुत्न भनि ओछ्यानमा पल्टेको बेला होस्, कुनै न कुनै कथाको थीम (विषयवस्तु) को कल्पना गरिरहेको हुन्छु । रातिको बेला छ भने जसै फुर्छ, कागतमा टिपि हाल्दछु । भोलि बिर्सिएला भन्ठानेर । यसरी ओछ्यानबाट उठ्दा कहिले पत्नी रिसाउँदै भन्छिन् –‘यो बत्ती बाल्दै–निभाउँदै कत्ति निद्रा खलबल्याउनु हुन्छ ।’ यस अवस्थामा, ‘म बाथरुम भएर आउँछु’ भन्दै ओछ्यानबाट निस्कन्छु । कागत–कलम झिक्छु । दराजबाट पौवा (जिनको) झिक्छु र लेख्न बस्छु । पत्नीले ‘के गर्दैछ’ भन्ने विचार गर्न आइन भने पनि पानी खान बसेको र केही लेखिरहेको भन्ठान्छिन् र ‘जति बेला पनि कलम चलाइराख्नुपर्छ, पानी खाइराख्नु पर्छ अनि बाथरुम जान पलङ्ग हल्लाइबस्नु पर्छ’ भनी फतफताउँदै फर्किन्छिन् । म लेख्नपट्टि लाग्छु । त्यो पौवा सकुन्जेल मेरो लेख तयार । सो सिम्पल । तपाईं पनि कोसिस गर्नोस ।’

‘तर म त पौवाको आदि छैन मित्र । अनि ओछ्यानमा पल्टिनेबित्तिकै मलाई त निद्रा लागि हाल्छ । पत्नी गुनासो गर्छिन –‘कस्तो निद्रा । पल्टेको छैन, घुर्र घुर्र ।’

उनी अट्टहास गर्छन । यो अट्टहास उनको साहित्यिक शब्दावलीमा कुन वर्गमा पर्दछ । म बुझ्न सक्दिनँ । 

Comments