हेलम्बु र मेलम्चीमा वाढीले १७ घर टहरा बगाए


साउन १७, २०७८, आइतबार | विहान ०७:०४ बजे | 45


हेलम्बु र मेलम्चीमा वाढीले १७ घर टहरा बगाए

काठमाडौं। शनिबार रातिदेखि आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका १७ घर टहरा बगाएको छ। ती मध्ये नौ पक्की र आठ कच्ची रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए।

उनका अनुसार गत असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घर गएरातिको बाढीले बगाएको हो। ती घरटहरा खाली थिए। बाढीले चनौटेको रातो पुल बगाएको छ। स्थानीयवासी हस्त पण्डितले दिएको जानकारी अनुसार बाढीले आइतबार विहान पुल बगाएको हो। मेलम्ची– ७ र ८, पाँचपोखरी– १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एकमात्र विकल्पका रुपमा यो पुल रहेको थियो। पुल बगाएसँगै अब यो भेगमा सवारीआवतजावत बन्द छ।

त्यस्तै ग्यालथुममा रहेको झोलुङ्गे पुल पनि बाढीले बगाएको छ। बाढीले धार परिवर्तन गरेर तालामाराङ प्रहरी चौकीको भान्छा पनि बगाएको छ। मेलम्ची बजारदेखिमाथि पुल बाँकी नरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले जानकारी दिए। खोलामा लेदोसहितको बाढी आएको र बाढी घट्ने, बढ्ने भइरहेको उनले बताए। हेलम्बु राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा मेलम्चीबाट हेलम्बु सवारीसाधन जान नसकेको मेलम्ची नगर प्रमुख डम्बर अर्यालले जानकारी दिए।

Comments