अवसर देऊ !
साउन १४, २०७८, बिहीबार | दिउँसो ०३:४५ बजे | 45
पदम दाहाल
ए विदेश पठाउने म्यान पावर कम्पनीहरू !
माया लाग्दैन के यस देशको तिमीहरूलाई ?पैसाको बिटो झोलामा कुम्ल्याएर
फुस्ल्याउँदै विदेश खटाउनेहरू !
दया जाग्दैन कि के हो ?
यो देश र देशवासीको दीनहीन अवस्थाप्रति तिमीहरूलाई ?
विदेशी मुद्रा पोक्याएर घर फिर्ने
दुःस्वप्न बुन्दै जुनी कटाउनेहरू !
माया लाग्दैन के स्वदेश र घरबारको तिमीहरूलाई ?
रेमिट्यान्स भित्र्याउन पर्खेका
राजस्व आयका प्रबन्धकहरू !
के दयामाया र छैन विवेक अलिकति पनि
यो देशको माटो र यहाँका बिलौनाको तिमीहरूलाई ?
आफन्ती र माटोको पे्रमलाई थाती राखेर
विदेश पलायन हुन जम्जमाएका
विरक्त युवा शक्तिहरू !
तिम्रो अन्तर्मन के नदुखेको हो ?
तिम्रो अन्तर्दिलभित्रको व्यग्रता
के नसल्बलाएकै हो ?
नसिबको दुर्बोध्यता तिमीमा
के साँच्चै नलहराएको हो ?
विपन्नताको अन्तर्वेदनामा छट्पटाएको यो देश
अकिञ्चनप्रति दया राख्नु पर्ने मेरो देश
अरूकै सम्पन्नतामा रमाउन
बाहिरिइरहेछौं हामी
अर्कैको प्रगति उचाल्दिन
पलायन हुँदा रहेछौ हामी
लामबद्ध पाखुरीको तागत बटुलेर
कतै हुत्तिइरहेछौं हामी ।
कर्मठ शक्तिको अभावमा
लड्खडाएको यति सुन्दर देश
युवापिंढी सोहोरेर पठाइरहेछ !
होच्याएर डाकिरहेछ कसैले
किन पो गर्व गरिरहेछ आफू नेपाली !
अर्काको उन्नति खातिर खन्याएर पुख्र्याैली करामत
आफ्नो प्रगति आफैँ
किन पो लुछिरहेछ परिवेश !
आपूुभित्र खुसी खसाउन
दाँत देखाएर हात पसारिरहेछ मेरो देश !
र खस्कँदो खुसी
कनिका टिपे झैँ बटुलिरहेछ यो देश !
हे देशको काँचुली फेर्न तम्सिएका शासक प्रशासकहरू !
अब आफ्नै प्रगतिका खातिर
जोस र जाँगर खन्याउने बाटो खनिदिए हुन्छ !
पौरखी हात पाखुराका तागत
जोडेर आफ्नै कमाइमा
आफैँभित्र रमाउने अवसर भैदिए हुन्छ !
मनमस्तिष्क र आँखाभरि
उतारेर योजना परियोजनाका मार्गचित्र
हत्केला पैतालामा
ठेला उठ्ने गरी थमाएर कामको कुर्बानी
अघाउन्जेल पेटका लागि कमाएर माम र मेजमानी
अनि खल्तीभरि जमाएर दामको दक्षिणा
देशसितको अगाध मायामा लुट्पुटिन लगाएर
नेपाली भै रम्ने अवसर दिलाएहुन्छ !
हे राज्य सञ्चालक र सत्तासीनहरू !
मलिन आमाको अनुहारमा
बिलिन हाँसो मिसाइदेऊ !
देशभक्तिको अटुट भावना र
राष्ट्र प्रेमको उच्च आदर्श
हरेक नेपालीको मन–मुटुमा गँसाइदेऊ ! !
० ० ०