देको मिवा इतापाके जग्गा एकीकरण आयोजना छिटो सम्पन्न गरी चाडोभन्दा चाँडो अस्थायी पूर्जा वितरण गर्न बिहीबार आयोजनाभित्रका जग्गाधनीहरूले भक्तपुर नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । नगर प्रमुख प्रजापतिलाई आयोजना छिटो सम्पन्न गर्न गठित दबाब समूहका अध्यक्ष पुरुषोत्तम तमखूले गुनासो सम्बोधन गर्न बाँकी जग्गाबाहेकका जग्गाधनीहरूलाई तत्काल जग्गा फिर्ता गर्न माग गर्दै उक्त ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको हो ।
सोही क्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले जनताको मागबमोजिम आयोजनाको काम छिटोछरिटो सम्पन्न गर्ने तयारी गरिरहेको बताउनुभयो । नपाबाट सञ्चालित आवास योजनाबारे उठेका जनगुनासो सम्बोधन गर्न नगरपालिकाले चरणबद्ध रुपमा सम्बन्धित जग्गावालाहरुसँग छलफल गर्नुका साथै आयोजनाले निवेदन परेका बाहेकका जग्गावालाहरूको यथाशक्य चाँडो जग्गा फिर्ता गर्ने क्रम अगाडि बढेको बताउनुभयो ।
ध्यानाकर्षण पत्रमा २०७२ सालको भूकम्पदेखि वर्षौं टहरामा बसेकाहरूलाई राहत पुग्ने, जग्गा फिर्ता नपाएर दुःख पाएका जग्गावालाहरूको माग सम्बोधन हुने उल्लेख छ । साथै आयोजनाका विवादित जग्गाबाहेकका जग्गा तत्काल फिर्ता गर्न आग्रह गर्दै अस्थायी पूर्जा यथाशक्य चाँडो वितरण गर्नुपर्ने विषयमा नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।
यसअघि पनि विभिन्न समूहले नगर प्रमुख समक्ष निवेदन दिई आफूहरु आयोजनाको नियमानुसार जग्गा कटाई जग्गा फिर्ता लिन मन्जुर भएको उल्लेख गर्दै ध्यानाकर्षण पत्र दिइसकेका छन् ।