भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सित नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत जो योङ मानले भेट गर्नुभयो ।
भेटमा अध्यक्ष बिजुक्छेँले विश्वभरि महामारीको रुपमा फैलिएको कोभिडबाट जनतालाई सुरक्षित राख्ने अभियानमा नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताहरु लागिरहेकोे बताउनुहुँदै कोभिड महामारीले नेपाली जनतालाई समाजवादी र पुँजीवादी व्यवस्थाबीचको भेदबारे स्पष्ट हुने अवसर मिलेको छ भन्नुभयो ।
उहाँले मित्र राष्ट्र चीनबाट नेमकिपा र भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई सहयोगस्वरुप प्राप्त विभिन्न स्वास्थ्य उपकरणहरुबाट जनताको सेवा गर्न मद्दत पुगेको बताउनुभयो । कोभिड महामारीमा अक्सिजन अभावकै कारण धेरैको मृत्यु भएको उल्लेख गर्नुहुँदै उहाँले कुनै पनि देश भौतिक रुपले मात्र अगाडि बढ्दैमा जनताको सेवा नहुने कुरा कोभिड महामारीले प्रमाणित गयो भन्नुभयो ।
अध्यक्ष बिजुक्छेँले प्रजग कोरियाले जनतालाई केन्द्रविन्दुमा राखेर काम गरिरहेको कारण हरेक क्षेत्रमा सफलता मिलेको बताउनु हुँदै प्रजग कोरिया कोभिडबाट पूर्ण सुरक्षित हुनुमा कोरियाली सरकारको निकै ठूलो भूमिका रहेको छ भन्नुभयो । उहाँले कम्युनिष्टहरुको निम्ति प्रजग कोरिया उदाहरणीय देश रहेको बताउनुहुँदै किम जोङ उनको नेतृत्वमा कोरियाले प्रगति गरिरहेकोमा खुशी प्रकट गर्नुभयो । भेटमा राजदूत मानले कोरियाली राष्ट्रपति किम जोङ उनको नेतृत्वमा साम्राज्यवादी देशहरुसँग डटेर लड्न साहस मिलेको बताउनुहुँदै संरा अमेरिकाले प्रजग कोरियासँग वार्ता गर्न खोजिरहेको र वार्ताका लागि आफूहरु सकारात्मक रहेको बताउनुभयो । उहाँले सुयोग्य नेतृत्व, एकताबद्ध जनता र आणविक शक्तिको विकासले अब कुनै पनि देशले प्रजग कोरियालाई झुकाउन सक्तैन भन्नुभयो ।
प्रजग कोरियाको सरकारले जनताको सेवामा समर्पित भएर काम गरिरहेको  स्पष्ट पार्नु हुँदै राजदूत मानले नेमकिपाले प्रजग कोरिया र कोरियाली जनताप्रति देखाएको एक्यबद्धताको निम्ति धन्यवाद ज्ञापन गर्नुभयो ।
भेटमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाइँ, कोरियाली राजदूतावासका तर्फबाट सल्लाहकार किम जोन ह्योक र एम्बासी अफिसर पिक जिन ह्योकको उपस्थिति थियो ।



...

All Comments.......


Please Login/Register To Comments