देउवालाई विश्वासको मत दिने एमाले नेताहरुमाथि कारबाहीको तयारी
साउन ४, २०७८, सोमबार | विहान ०४:०४ बजे | 40
काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटी आज बिहान ११ बजे बैठक बस्दै छ। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक बस्न लागेको हो।
एमाले कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा विधान अधिवेशन र पार्टीको निर्देशन अवज्ञा गर्ने नेतामाथि कारबाहीका सन्दर्भमा छलफल हुनेछ।
एमालेले यही साउन २५ देखि २७ सम्म विधान अधिवेशन गर्दैछ। केन्द्रीय कमिटी बैठकले साउन २५ देखि २७ सम्म विधान अधिवेशन गर्ने निर्णय गरेको थियो।
यस्तै आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा विपक्षीमा मतदान गर्न एमाले निर्देशन दिएको थियो । तर मालेका ३३ जना सांसदले पार्टी ह्वीप उलङ्घन गरेका थिए । जसमा २२ जनाले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका छन् ।
माधव नेपाल पक्षका आठ जनाले मतदान नहुँदै सदन छोडेर तटस्थताको नीति लिएका थिए। यता अध्यक्ष केपी ओली पक्षका ८ जनाले पनि फ्लोर क्रस गरेर विश्वासको मत दिएका थिए।