भक्तपुरमा प्रहरी उपरीक्षक तारादेवी थापालाई स्वागत
असार १६, २०७७, मङ्गलबार | विहान ११:३१ बजे | 35
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०७७ असार ८ गतेबाट भक्तपुर जिल्लामा सरुवा भई आउनुभएकी प्रहरी उपरीक्षक तारादेवी थापालाई पुष्पगुच्छा र भक्तपुरको प्रसिद्ध मयुर झ्याल प्रदान गर्नुभएर भक्तपुर नगरपालिकामा स्वागत गर्नुभयो ।
[[img2]]
नगर प्रमुख प्रजापतिले प्रहरी उपरीक्षक थापालाई सांस्कृतिक, पर्यटकीय र प्राचीन नगर भक्तपुरमा नगरपालिका परिवार र सिंगो नगरबासीहरुको तर्फबाट स्वागत गर्नुभयो । भक्तपुरको सम्पदा संरक्षण र शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रशासनको भूमिका अपरिहार्य भएको बताउनुहुँदै भक्तपुर नपाले अनियमित, भ्रष्टाचार र अनैतिक काम गर्नेहरुको पक्ष कहिल्यै नलिने उहाँले बताउनुभयो ।
[[img3]]
भक्तपुर नगरपालिकाले नेपालकै प्रसिद्ध ङातापोल मन्दिर जीर्णोद्धार कार्य जनश्रमदानमार्फत गरिरहेको अवगत गराउनुहुँदै प्रमुख प्रजापतिले कोरोना संक्रमण नियन्त्रणको लागि लकडाउनको समयमा जनप्रतिनिधि र प्रशासनले खेलेको भूमिकाबारे प्रष्ट पार्नुभयो ।उहाँले आफ्नो कार्यक्षेत्रमा इमानदारीपूर्वक काम गरी जनमानसमा सकारात्मक प्रभाव पार्न शुभकामना दिनुहुँदै भक्तपुर क्यान्सर अस्पतालमा भएको अनियमितता र भ्रष्टाचारको बारेमा पनि अवगत गराउनुभयो ।
[[img4]]
कार्यक्रममा प्रहरी उपरीक्षक थापाले भक्तपुर देशकै सानो जिल्ला भएर पनि सांस्कृतिक विविधता बोकेको जिल्ला भएको हुँदा सुन्दर नगरी भक्तपुरमा सरुवा भएर कार्य गर्न पाउँदा निकै उत्साहित भएको बताउनुभयो । भक्तपुरबासीको न्यानो स्वागत र सद्भावप्रति आभार प्रकट गर्नुहुँदै प्रहरी उपरीक्षक थापाले प्रहरी जनताको सेवामा सँधै खटिरहने र प्रहरीबाट हुने गलत कार्यको पनि निन्दा गर्नु आवश्यक भएको बताउनुभयो ।
[[img5]]
स्वागत कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले भक्तपुरको संक्षिप्त परिचय दिनुहुँदै प्रहरी प्रशासनको तर्फबाट सकारात्मक सहयोगको अपेक्षा रहेको बताउनुभयो ।प्रहरी उपरीक्षक सबिन प्रधानको ठाउँमा प्रहरी उपरीक्षक तारादेवी थापा भक्तपुरको प्रहरी प्रमुखको रुपमा आउनुभएको हो । उहाँ काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट सरुवा भई भक्तपुर जिल्लामा आउनुभएको हो ।