अनुमतिबिना फोन रेकर्ड गरेको भन्दै घरबेटीले दिइन् रुपा सुनारविरुद्ध मानवअधिकार आयोगमा उजुरी
असार १६, २०७८, बुधबार | दिउँसो १२:०० बजे | 50
काठमाडौं । आज घरबेटी सरस्वती प्रधानले मानवअधिकार आयोगमा उजुरी दिएकी छिन् । दलित युवतीलाई घरमा कोठा नदिएको आरोपमा ३ दिन हिरासतमा बसेर निस्केकी घरबेटी प्रधानले मानवअधिकार आयोगमा उजुरी दिएकी हुन् । सञ्चारकर्मी रुपा सुनारले आफ्नो मञ्जुरी बिना फोन रेकर्ड गरी व्यक्तिगत जीवनको स्वतन्त्रता हनन गरेको उनको आरोप छ ।
उजुरीमा सरस्वतीले अपराधिक नियतका साथ रुपाले आवश्यकता विना नै कोठा खोज्न आएर बहानावाजी गरेको दावी समेत गरेकी छन् ।
उनको उजुरीमा भनिएको छ, ‘मेरो मञ्जुरीबेगर फोन रेकर्ड गरी त्यसकै प्रमाण सिर्जना गरी मेरोविरुद्ध छुवाछुतको उजुरी दिई गैरकानूनी एवं मेरो वैयक्तिक जीवनको स्वतन्त्रता विपरीत हुने गरी पूर्वाग्रहपूर्वक थुनाइएको छ ।’
दुईवटा कोठा १२ हजार रुपैयाँमा दिने भनेर कुरा मिलिसक्दा रुपाले नै जातको कुरा निकालेको सरस्वतीले बताएकी छन् । साथै उनी आफ्नो आमालाई देखाउनुपर्छ भनेर हिँडेको सरस्वतीको भनाइ छ ।
सरस्वतीले रुपासहित उनीसँग आएका दुई साथीहरुलाई पनि कारवाहीको माग गरेकी छन् । आफूबाट जातीय छुवाछुतको कुनै व्यवहार नभएको पनि उनको दावी छ ।