आज असार १५, किन खाइन्छ दही चिउरा ?


असार १५, २०७८, मङ्गलबार | विहान ०१:५५ बजे | 50


आज असार १५, किन खाइन्छ दही चिउरा ?

कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन्। रोपाइँ सकेको खुसीयालीमा भोजस्वरुप दही र चिउरा खाने दिन हो असार १५। सरकारले यस दिनमा धान दिवससमेत मनाउँदै आएको छ।
नेपाली समाजमा परम्परागत रुपले नै असार १५ मा दही चिउरा खाने प्रचलन रहँदै आएको हो। तर असार १५ मै किन खाइन्छ दही चिउरा ? प्रायःको एउटै उत्तर हुने गर्छ, पहिलेदेखि खाँदै आएको त्यसैले।
आखिरमा किन असार १५ को सांस्कृतिक महत्व छ त ? संस्कृतिकर्मीका आधारमा असारमा समयमै रोपाइँ सकिएको खुसीयालीमा दही चिउरा खाइन्छ। परापूर्वकालदेखि नै यो प्रचलन चल्दै आयो ।
तर समयक्रमले यसलाई असार १५ मा पु¥याएको संस्कृतिकर्मीको तर्क छ। उनीहरुका अनुसार रोपाइँ नसकिएसम्म दहीचिउरा खाइँदैन तर अहिले रोपाइँ सकियोस् या नसकियोस् प्रत्येक वर्षको असार १५ मा दहीचिउरा खाने गरिन्छ।
हुन त अहिले दहीचिउरा खान असार १५ सम्म पर्खन पर्दैन। अहिले बजारमा दहीचिउरा १२ महिना उपलब्ध छन्। उसबेला सबैसँग आजजस्तो माछा, मासुलगायतका पौष्टिक आहार खाने क्षमता थिएन।
रोपाइँले थाकेका किसानलाई माछामासु पकाएर बस्ने फुर्सद पनि हुँदैन। सबैजसो किसानका घरमा गाईभैसी पालिएको हुन्थ्यो। गाईभैसीले दिने दूधले गर्दा घरघरमा दही, मही र घ्यू खाली हुँदैन।
त्यस्तै खेतीकिसानी गर्ने भएकाले चिउरा पनि घरमै हुने भइहाल्यो। त्यसैले घरमै रहेको दहीचिउरालाई महत्व दिएर असारमा रोपाइँ सकिएको खुसीयालीमा भोज गर्ने प्रचलन रहेको संस्कृतिकर्मीहरु बताउछन्।

Comments