देशभर १८ औं राष्ट्रिय धान दिवस मनाइदै


असार १५, २०७८, मङ्गलबार | विहान ०१:५४ बजे | 35


देशभर १८ औं राष्ट्रिय धान दिवस मनाइदै

काठमाडौं । आज (मंगलबार) १८ आंै राष्ट्रिय धान दिवस मनाइदै छ । ‘धान उत्पादनमा वृद्धि ः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ नाराका साथ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०७८ मनाउन लागेका हो ।
कोभिड–१९ का लागि स्वास्थ्य मन्त्रालयले स्वास्थ्य मापदण्डको पालना गर्दै दिवस मनाउन लागिएको हो। कृषि विभाग, नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रको संयुक्त आयोजनामा दिवस मनाउन लागिएको हो।
दिवसको अवसरमा नार्कको राष्ट्रिय बाल विज्ञान अनुसन्धान केन्द्र खुमलटारको परिसरमा कार्यक्रमको आयोजना गरिएको छ ।


विसं २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती रहेको छ ।
किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोप्ने गरिन्छ।

प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही–चिउरा खाएर मनाइन्छ। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही–चिउरा खान्छन्। यसबेला दही–चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। असार १५ लाई नेपाली समाजमा दही–चिउरा खाने पर्वको रुपमा पनि लिइन्छ। खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही–चिउरा खाई असार १५ मनाउँछन्।

Comments