भक्तपुर नगरपालिकाको दशौं नगरसभा चालु
असार १३, २०७८, आइतबार | दिउँसो १२:४८ बजे | 30
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको दशौं नगरसभाको बैठक आइतबार पनि चालु रह्यो ।
सभामा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरको आकार र विशेषताअनुसार भक्तपुर नगरपालिकाको सन्तुलित विकास गर्न बजेट विनियोजन गरेको बताउनुहुँदै नगरको शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणलाई क्रमशः प्राथमिकतामा राखी बजेट छुट्याएको प्रष्ट पार्नुभयो
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार २०७८ असार १० गतेसम्ममा स्थानीय तहको बजेट पेश गर्नुपर्ने र निश्चित समयावधिभित्र पारित गर्नुपर्ने कानुनी व्यवस्था रहेको बताउनुहुँदै उहाँले नगरबासीहरुबाट प्राप्त राय सुझावलाई समेटेर जनमुखी बजेट निर्माणमा जोड दिएको बताउनुभयो ।
सभामा समाजवादी देश चीन आफ्नो देशको विकाससँगसँगै संसारका अरु विकासशील र विकासोन्मुख देशको पनि विकास गर्ने उद्देश्यले अगाडि बढिरहेको बताउनुहुँदै उहाँले समाजवादी र पुँजीवादी देशबीचको भिन्नताबारे प्रष्ट पार्नुहुभयो ।
भक्तपुर नगरपालिकाको आ.व. २०७८÷०७९ को बजेटमाथि भएको दफावार छलफलमा सभासद १६ जना सभासद्हरुले आफ्नो विचार राख्नुभएको थियो ।
बैठकमा आ.व. २०७८÷७९ को बजेट माथिको छलफलमा सभासद गोविन्द दुवालले आदर निकेतन निर्माण र सञ्चालन यसै वर्ष गर्नुपर्ने र भक्तपुरको साना उद्योग क्षेत्रलाई हस्ताकलामा आधारित उद्योगको रुपमा विकास गर्नुपर्ने, सभासद् जितेन्द्र मुनंकर्मीले अरनिको सभाभवन निर्माण कार्यलाई अगाडि बढाउनुपर्ने, सभासद् सम्झना खाइजुले नगरमा विषादी जाँच गर्ने ल्याबको लागि बजेट छुट्याउनुपर्ने धारणा राख्नुभयो ।
यसैगरी सभासद् तुल्सीलक्ष्मी दुमरुले खानेपानी मुहानलाई जलाधार क्षेत्र घोषणा गरी संरक्षण गर्नुपर्ने, सभासद् रन्जना त्वातीले नगरका सबै वडामा स्वास्थ्य केन्द्र सञ्चालन गर्नुपर्ने र सभासद् राजेन्द्र माकले रामन्दिर पुल लगायतका पुराना र जीर्ण अवस्थामा रहेका पुलहरु मौलिक शैलीमा पुनःनिर्माण गर्नुपर्नेलगायतका सुझावहरु राख्नुभएको थियो ।
नगरसभाको अर्को बैठक २०७८ साल असार १५ गते, मंगलबार दिनको १ बजे बस्ने गरी स्थगित भयो ।