रक्तदान कार्यक्रम सम्पन्न, ३७ प्याकेट रगत संकलन
असार ४, २०७८, शुक्रबार | विहान ११:५० बजे | 45
भक्तपुर चेम्बर अफ कमर्श र भक्तपुर लायन्स सेवा समन्वय समितिको संयुक्त संयोजनमा संचालन भईरहेको सेवा परमो धर्म अभियान अन्तर्गत आज लान्चा फल्चा, कमलविनायकमा आकस्मिक रक्तदान कार्यक्रमको आयोजना भयो । मौजूदा कोभिड १९ महामारीका बीच रगतको अभावलाई न्यूनिकरण गर्ने उद्देश्य अनुरुप उक्त रक्तदान कार्यक्रमको आयोजना भएको हो । भक्तपुर जिल्लाका विभिन्न स्थानहरुमा सप्ताहव्यापी रुपमा आयोजना गरिने उक्त कार्यक्रम अन्तर्गत आज ९ महिला र २८ पुरुषबाट गरी ३७ प्याकेट रगत संकलन भएको छ । उक्त रक्तदान कार्यक्रमको संयोजन भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघबाट भएको हो । साथै रक्तदान कार्यक्रममा ब्लोडान भक्तपुर र पायोनियर ओपन क्रुको विशेष सहयोग रहेको थियो । अभियानलाई सफल रुपमा सञ्चालन गर्नका लागि जिल्ला प्याब्सन भक्तपुर, भक्तपुर डाक्टरस् सोसाइटी, भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघ, नेपाल नसिंड्ड संघ, सिबिआर भक्तपुर, भक्तपुर हार्ट एण्ड डायेवेटिक सेन्टर, निरोग मेडिकल केयर एट होम, भक्तपुर पार्टि प्यालेस तथा क्याटरिड्ड संघ र त्रिनेत्र बचत तथा ऋण सहकारी संस्था लि. को सहकार्य रहदै आएको छ ।
सप्ताहव्यापी रक्तदान कार्यक्रम अन्तर्गत नै आषाढ ५ गते मध्यपुरथिमि बालकुमारी, ६ गते टुरिजम मार्केट, सूर्यविनायक, ७ गते मध्यपुरथिमि राधेराधे, ८ गते सल्लाघारी कम्प्लेस, सल्लाघारी, ९ गते नर्थ प्वाइन्ट मल, बोडे र १० गते च्याम्हसिंह भक्तपुरमा रक्तदान कार्यक्रम हुने भएको छ ।