महेश वस्नेतको नाम गृहमन्त्रीको लिष्टमा थिएन ः कर्ण थापा


असार ४, २०७८, शुक्रबार | विहान १०:३० बजे | 30


महेश वस्नेतको नाम गृहमन्त्रीको लिष्टमा थिएन ः कर्ण थापा

पछिल्लो पटक मन्त्रिपरिषद पुनर्गठनलाई लिएर नेकपा एमालेको केपी ओली समूहभित्रै असन्तुष्टि र अन्तरविरोध देखापरेका खबरहरु आइरहेका छन् । खासगरी ओली पक्षका नेता महेश बस्नेतले आफ्नो नाम गृहमन्त्रीमा निश्चित भइसकेका बेला प्रधानमन्त्री नजिकका मानिसले नाम काटिदिएको सार्वजनिक अभिव्यक्ति दिएपछि असन्तुष्टि बाहिर आएको हो ।
मन्त्रिपरिषद पुनर्गठनको विषयलाई लिएर ओली समूहभित्र असन्तुष्टि देखिएकै हो त ? हामीले यसबारे प्रधानमन्त्री ओलीका निकट मानिने एमाले नेता कर्ण थापासँग बुझ्ने प्रयास गर्यौं । नेकपा एमाले सुदुरपश्चिम प्रदेशका अध्यक्षसमेत रहेका केन्द्रीय नेता थापा पनि मन्त्रिपरिषद पुनर्गठनप्रति सन्तुष्ट देखिएनन् । तर, महेश बस्नेतको नाम गृहमन्त्रीका रुपमा चर्चामा आएको र पछि काटिएको भन्नेचाहिँ उनले अस्वीकार गरे ।
आफू गृहमन्त्री बन्ने पक्का भएका बेला प्रधानमन्त्रीका सल्लाहकार र वरिपरिका केही मानिसले मन्त्री बन्नबाट रोकेको बस्नेतले सार्वजनिक रुपमै बताएका थिए । तर, थापाले भने त्यसरी प्रधानमन्त्रीको सचिवालयका सदस्यले कसैको नाम नकाटेको र कसैको नथपेको बताए ।
‘खगराज अधिकारीको नाम पछि आयो, पहिला अर्कै नाम थियो भन्ने सही होइन, कसैको पनि नाम काटिएको छैन’, थापाले भने, ‘जहाँ छलफल हुनुपर्ने हो, त्यहाँ छलफल भएअनुरुप नै निर्णय भएको छ । कसैको नाम काटियो, कसैका थपियो, यो कसैले गर्यो भन्ने मलाई लाग्दैन । प्रधानमन्त्रीले आफैं गर्नुहुन्छ । सचिवालयका मान्छेले यो थप्ने र अर्को काट्ने गर्दैनन् ।’

प्रचार र सन्तुष्टि लिन कोही कसैले त्यस्तो ‘स्टन्टबाजी’ गरेको हुनसक्ने थापाले बताए । यद्यपि थापाले पनि प्रधानमन्त्री ओलीले पछिल्लोपटक गरेको मन्त्रिपरिषद विस्तारमा परेका मानिसहरुबाट भने आफू सन्तुष्ट हुन नसकेको बताए ।
थापाले भने, ‘अहिलेको मन्त्रिपरिषदमा जे–जस्ता मान्छेहरु गएका छन्, सबै कुरामा म सन्तुष्ट छैन । किनभने, योभन्दा काविल र योग्यतम् मान्छे अरु पनि हुन सक्थे ।’ तर, मन्त्रिपरिषदमा जे–जस्ता मानिसहरु छानिए, यसको जवाफदेहिता र जिम्मेवारी प्रधानमन्त्री स्वयंले लिने भन्दै मन्त्रीका रुपमा गएकाहरूको परीक्षण हुन बाँकी नै रहेको उनको विश्लेषण छ । सुदर्शन खवरबाट

Comments