६ करोड नाघ्यो भक्तपुर नगरपालिकालाई जनताको सहयोग
असार ३, २०७८, बिहीबार | दिउँसो १२:४४ बजे | 25
भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन र आवश्यक स्वास्थ्य उपकरणहरू व्यवस्था गर्न लागि नगरपालिकाको आह्वानलाई स्वीकार्दै विभिन्न सहकारी संस्था, संघ संस्था र दाताहरूबाट आर्थिक सहयोग प्राप्त हुने क्रम बिहीबार पनि चालु रह्यो ।
ख्वप अस्पताल कोभिड युनिटमा अक्सिजन प्लान्ट जडान गर्न भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा २०७८ जेठ ५ गतेदेखि असार ३ गतेसम्ममा आर्थिक रु ६ करोड भन्दा वढी सहयोग जम्मा भएको हो । बुधबारसम्म ५ करोड ९६ लाख २६ हजार चार सय आठ रुपैयाँं ७१ पैसा बराबरको आर्थिक तथा भौतिक सहयोग जम्मा भएको थियो । त्यसमा थपेर विहीबार थप असार ३ गते बिहीबार मात्र आर्थिक रु ६ लाख ८९ हजार १६ रुपैयाँं सहयोग प्राप्त भएको छ ।
आगामी दिनमा भक्तपुर नपाको कोषमा रकम जम्मा गर्न चाहने महानुभाव तथा संघसंस्थाहरूले भक्तपुर नगरपालिका, प्रकोप व्यवस्थापन कोषको नेपाल बैंक लिमिटेड, कमलविनायक शाखामा रहेको खाता नं ०१९०३०००००७००२०००००३ खातामा जम्मा गर्नु हुन अथवा भक्तपुर नपामा उपलब्ध गराउन अनुरोध गरेको छ ।
कोभिड–१९ कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिट मा आइसोलेसन केन्द्र र एचडीयु सञ्चालनका लागि अक्सिजन प्लान्ट व्यवस्था गर्न यस नगरपालिकामा स्थापित प्रकोप व्यवस्थापन कोषमा आज मिति २०७८।३।३ गते सहयोग गर्नुहुने विभिन्न व्यक्ति र संघ संस्थाहरुको नाम, ठेगाना र सहयोग रकम सधैजस्तै आज पनि सार्वजनिक गरेको छ ।