काभ्रेको गाउँ–गाउँमा तामाङ चिकित्सक समाजको टोली


जेठ २१, २०७८, शुक्रबार | दिउँसो १२:१० बजे | 140


काभ्रेको गाउँ–गाउँमा तामाङ चिकित्सक समाजको टोली

काभ्रे । काभ्रेको गाउँ–गाउँमा तामाङ चिकित्सक समाजको टोली पुगेको छ । तामाङ चिकित्सक समाज, नेपालमा आबद्ध डाक्टरहरु काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिका वडा नं. ३, माझीफेदामा पुगेका हुन । समाजको कोभिड–१९ परिक्षण, परामर्श र औषधी वितरण अभियान अन्तर्गत बुधबार माझीफेदामा रहेको धुलिखेल अस्पताल शाखा सलम्बु स्वास्थ्य केन्द्रमा पुगेका थिए ।

सो टोलीमा गाउँपालिका अध्यक्ष दिननाथ गौतम, उपाध्यक्ष ताराकुमारी चौंलागाईं, माओवादी केन्द्रका युवा नेता तेज पन्त, वडा अध्यक्ष विनोद घिसिङ लगायत अन्य जनप्रतिनिधिहरु स्वास्थ्यकर्मी समेत पुगेका थिए । कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएको विरामी सो वडामा धेरै रहेको खबर पाएपछि माओवादी केन्द्रका युवा नेता तेज पन्तले गाउँपालिका र वडा कार्यालयमा समन्वय गरेर सो टोली लिएर गएका थिए ।


सो अवसमार तामाङ चिकित्सक समाजसँग सम्बद्ध डाक्टरहरुको टोलीले कोभिडसँग मिल्दोजुल्दो लक्षण भएका ८६ जनाको एन्टीजेन परिक्षण गर्दा १६ जनामा कोभिड पुष्टि भएको वडा अध्यक्ष विनोद घिसिङले जानकारी दिए ।
डाक्टरहरुले संक्रमितहरुसँग कोभिडकोबारेमा परामर्श, स्वास्थ्य परिक्षण, आवश्यक औषधि वितरण, कोभिड संक्रमित बिरामीहरुलाई कस्तो ब्यबहार गर्ने एवं उपचार गर्नेबारेमा सचेतना दिएका थिए ।
यसैबीच समाजल गाउँपालिकाका स्वास्थ्यशाखालाई स्वास्थ्य सामग्रीहरु समेत हस्तान्तरण गरिएको थियो ।
टोलीमा तामाङ चिकिस्तक समाज, नेपालको पदाधिकारीहरु डा. दिलबहादुर थोकर, डा. निराजन तामाङ, डा.बिना लामा, डा. उषा लामा, डा. सन्जित लामा, सलम्बु हस्पिटलका डाक्टर, हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसिएन र स्टाफ, स्वयंसेवकहरु सहभागी थिए ।

Comments