कोरोना खोपको दौडः चीन पहिलो नेपाल ५१ औं स्थानमा
जेठ १४, २०७८, शुक्रबार | विहान ०१:५८ बजे | 35
कोरोना खोपको दौडःबुधबारसम्म विश्वभर झण्डै १ अर्ब ७० करोड डोज खोप लगाइएकोमा त्यसको ६० प्रतिशत खपत मुख्य तीन मुलुकहरु चीन, अमेरिका र भारतले गरेका छन् ।
खोप कार्यको तथ्याङ्क राखिरहेको आवर वर्ल्ड इन डाटाका अनुसार यो दौडमा चीन सबैभन्दा अगाडि छ । बुधबारसम्म चीनले झण्डै ५६ करोड डोज खोप लगाइसकेको छ । चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्स अनलाइनका अनुसार चीनले पछिल्ला केही दिनयता हरेक दिन २ करोड डोज खोप लगाइरहेको छ ।
दोस्रो नम्बरमा रहेको अमेरिकाले झण्डै २८ करोड डोज खोप लगाइसकेको छ भने भारतले २० करोड डोज खोप लगाएर तेस्रो स्थानमा पुगेको छ ।
यसैगरी ब्राजिलले ६ करोड ४० लाख, बेलायतले ६ करोड २० लाख, जर्मनीले ४ करोड ७० लाख, फ्रान्सले ३ करोड ३० लाख र इटलीले ३ करोड २० लाख डोज खोप लगाइसकेका छन् ।
नेपालको स्थान ५१ औं नम्बरमा
अहिलेसम्म २७ लाख डोज खोप लगाइसकेको नेपाल यो सूचीको ५१ औं स्थानमा रहेको छ । भारतले सहयोग दिएको १० लाख डोज, सेरमसँग किनेको १० लाख डोज र चीनले अनुदान दिएको ८ लाख डोज खोप नेपाल आएको छ । चीनले थप १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरिसकेको छ ।
नेपालमा २०७७ माघ १४ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको थियो ।