नेपालकै पहिलो कोरोना संक्रमितको शव व्यवस्थापनमा लागेको अरुण सैजको टिम किन निराश भए ?
जेठ ६, २०७८, बिहीबार | विहान ०५:५५ बजे | 35
काठमाडौँ ः कोरोना सङ्क्रमणको पहिलो लहरबाटै सङ्क्रमितको शव उठाउन खटिएको स्वयंसेवी समूह ‘रेस्क्यु एन्ड अवारनेस–१६’ (आरएनए १६) का ११ सदस्य अहिले अलमलमा छन्। कारण गैर सैनिक भएको भन्दै उनीहरूमाथि लागेको रोक।
११ जना सदस्य रहेको उनीहरूले शव र्यापिंग गरेर दाहसंस्कार गर्ने ठाउँमा पूर्याउँदै आएका थिए। बाँकी काम नेपाली सेनाको टिमले गर्दै आएको थियो। एकाएक बुधवारबाट उनीहरूलाई अब शव नउठाउन आदेश आएपछि उनीहरू फर्किए।
कोरोना भाइरस सङ्क्रमणका कारण जेठ १ मा मृत्यु भएकी सिन्धुपाल्चोककी सुत्केरी महिलाको शव नउठेपछि उनीहरूले नै व्यवस्थापन गरेका थिए। यो बिचमा उनीहरूले ३८ शवको व्यवस्थापन गरे। भक्तपुर क्षेत्रमा सक्रिय यो समूहका सदस्य आवश्यकता अनुसार अन्य जिल्लामा पनि पुगेका थिए।
एकाएक गैर सैनिकलाई शवमा संलग्न नगराउने भनिएपछि भने उनीहरू अहिले अलमलमा छन्। टिममा संलग्न अरुण सैजू आफ्नो समूहले शवको व्यवस्थापन नगरी घर वा अस्पतालमा गएर सङ्क्रमितको शव र्यापिंङ र ह्याण्डलिङ गर्ने गरेको जानकारी दिए।
भक्तपुरको अधिकांश कोरोना सङ्क्रमितको शव उनीहरूको समूहले नै र्यापिङ गरेको थियो। समूहले काठमाडौँ, काभ्रे र सोलुसम्म गएर शवको र्यापि¨ ग¥यो।
‘सेनाले शव व्यवस्थापन गर्ने हो। त्यो भन्दा अगाडी शवलाई र्यापिङ गर्ने काम कि त अस्पतालको स्वास्थ्यकर्मीले मृतकको सदस्यले गर्दै आएका थिए,’ उनले भने‘ स्वास्थ्यकर्मीको अन्य जिम्मेवारी पनि भएको र परिवारका सदस्यमा अनुभव नभएकाले तालिम लिएर हामीले काम गरिरहेका थियौँ। तर एकाएक अब नगर्नु भन्ने सन्देश आउँदा अलमल परियो।’
शवको यार्पिङ लगायतका प्रारम्भिक काममा लाग्नुपर्ने स्वास्थ्य जनशक्ति सङ्क्रमितको उपचारमा खटिन सकुन् र सेनालाई पनि केही सहज होस् भनेर आफूहरूले सो काम सुरु गरेको बताउँदै उनले भने‘हाम्रो लक्ष्य सहजीकरण हो। शवको अन्तिम व्यवस्थापन त सेनाले नै गर्ने हो। तर अहिले र्यापिङ लगायतका काममा पनि संलग्न नहुनु भनियो।’
उनीहरूले पिसीआर रिपोर्ट, स्थानीय तहको सिफारिस, मृतकको कागजात मिलाउन समेत सघाउँदै आएका थिए। उनीहरूको कामको प्रशंसा गर्दै सैंजुलाई प्रधान सेनापतिबाट निशान छाप प्रशंसा मेडल समेत दिइएको थियो।
अहिले अब सबै काम सेनाले नै गर्छ भनेपछि उनको समूहका सबै सदस्य घर फर्किएका छन्। अरुण शव व्यवस्थापनमा गैर सैनिक संलग्न भनेर भ्रम फैलाउँदा आफ्नो समूहलाई काम गर्न गार्हो परेको बताउँछन्।
’हामीले शव व्यवस्थापन गर्ने हैन। त्यो काम सेनाले नै गर्छ,’ उनले भने’ हाम्रो काम शव दाहसंस्कार गर्न लैजानु अगाडि गर्नुपर्ने कामहरु गर्ने हो। यसमा सेना र गैर सेना भन्ने हुन्छ?’
अनुभवी समूह
अरुणले छाउनी रेन्जर गणबाट कोभिड–१९ ले मृत्यु भएकाहरूको शव व्यवस्थापनको प्रशिक्षण लिएका छन् । पछिल्लो समय कोरोना भाइरसको महामारी पछि नेपाली सेनाद्वारा प्रदान गरिएको शव व्यवस्थापन तालिमकै आधारमा कोरोनाबाट मृत्यु भएकी महिलाको शव लिन अरुण र राजेश त्यहाँ खटिएका थिए।
उनीहरूले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले दिने विपद् व्यवस्थापन र मानवीय उद्धारको तालिमसमेत प्राप्त गरेका छन् ।
पहिलो लकडाउनको सुरुकै दिनमा चाँगुनारायणमा १६ जना भारतीय नागरिकमध्ये ६ जना कोरोना पोजेटिभ भएपछि उनीहरूलाई लिन कुनै एम्बुलेन्स नआएपछि परिचित केपी ताम्राकारसँग गाडी लिएर सेनाको सहयोगमा उनले गाडिलाई शव र जीवित व्यक्ति राख्न मिल्ने गरी एम्बुलेन्स बनाएका थिए। सो समूहले सोही गाडी प्रयोग गरेर शव व्यवस्थापनको प्रारम्भिक काममा सेनालाई सघाउँदै आएको थियो।
जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले कोरोना संक्रमणबाट ज्यान गुमाएकाहरूको शव व्यवस्थापन लगायतका सबै काम नेपाली सेना बाहेक अरूले नगरेको दाबी गरे।
‘शव सम्बन्धी सबै काम नेपाली सेनाले गरिरहेको छ,’ उनले दाबी गरे‘ अन्य संस्था संलग्न रहेको जानकारी भएन।’