क्षमताभन्दा बढी स्वाबको नमुना आउँदा धेरै नमुना पेन्डिङमा
जेठ ५, २०७८, बुधबार | विहान ०६:५० बजे | 25
विश्व महामारीको रुपमा रहेको कोरोना भाइरसको संक्रमण तिव्र गतिमा फैलिएसंगै पीसीआर परिक्षण गराउनेको संख्या पनि बढ्न थालेको छ । काभ्रेको धुलिखेलमा रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा दैनिक १२ सय नमुना पीसीआर परिक्षणका लागि आउने गरेका छन् । दैनिक ५०० स्वाब परीक्षण गर्न सक्ने क्षमता रहेको यस प्रयोगशालामा क्षमताभन्दा बढि स्वाबको नमुना आउँदा धेरै नमुना पेन्डिङमा रहेको प्रयोगशालाका प्रमुख नारायण कार्कीले जानकारी दिए ।
दैनिक ५०० क्षमता भएको मेशिननद्धारा अहिले दैनिक ८०० वटा नमुना परिक्षण गर्दै आएको उनले बताए । अहिले प्रयोगशालामा २ वटा मात्रै मेशिन रहेकाले परिक्षणको नतिजा दिन ढिला भएको उनको भनाई छ । परिक्षणका लागि नमुना संकलन बढेसँगै अहिले प्रयोगशालामा ५ वटा मेशिनको आवश्यकता रहेको उनले बताएका छन् । थप ३ वटा मेशिन खरिदका लागि स्वास्थ्य मन्त्रालयमा आफूले निवेदन दिए पनि मन्त्रालयले मेशिन खरिदको लागि टेन्डर मार्फत आह्वान गर्न भनेको उनको गुनासो छ । टेन्डर प्रकृयाबाट खरिद गर्दा कम्तिमा पनि २ महिना समय लाग्ने र त्यसबेला सम्म कोरोनाले भयावह रुप लिईसक्ने उनले बताएका छन् ।
काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली,भक्तपुर लगाएतका जिल्लाहरुबाट पनि नमुना परिक्षणका लागि आउने गरेको र अहिले प्रयोगशालामा जनशक्ति पर्याप्त भए पनि मेशिन अभावका कारण समयमै परिक्षण गर्न नसकेको प्रमुख कार्कीले बताएका छन् । अहिले कम्तीमा पाँच वटा मेशिन सञ्चालनमा ल्याउन सके २४ घण्टा भित्रै सबै नमुनहरुको परिक्षण गरि नतिजा दिन सकिने उनले दाबी गरेका छन् । पिसीआर परिक्षण मेशिन खरिद सहयोगका लागि इच्छुक भएमा प्रमुख कार्कीले सहयोग गर्न सबैलाई आग्रह समेत गरेका छन् ।