कोविड विरुद्ध लड्न महानगरको सहयोगमा १२ वटा अस्पतालसँग सम्झौता


जेठ १, २०७८, शनिबार | विहान १०:०० बजे | 35


काठमाडौँ । कोविडको संक्रमणबाट विरामी भएका नागरिकलाई सहज उपचार सेवाका लागि काठमाडौंँ महानगरले आज थप ३ वटा अस्पतालसँग सहयोग सम्झौता गरेको छ । आज सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालसँग सम्झौता गरिएको हो । हिजो (बैशाख ३१ गते) ७ वटासँग, बैशाख २४ गते एउटा र २७ गते एउटा गरी अहिलेसम्म १२ वटा सरकारी र सामुदायिक अस्पतालसँग सम्झौता गरिसकिएको छ ।

यसरी भएका सम्झौताअनुसार महानगरको लगानीमा सामाखुशीमा रहेको राधा स्वामी सत्संग ब्यासको भवनमा महानगरपालिकाको अक्सिजन सहितको २ सय वेडको आईसोलेसन केन्द्र र छत्रपाटी निःशुल्क चिकित्सालयमा ३५ वेडको कोविड अस्पताल सञ्चालन हुनेछ । त्यसै गरी विभिन्न अस्पतालहरुले ४२ वटा भेन्टिलेटर, ५० थान मोनिटर, १० थान कन्टिन्युअस पोजेटिभ एअर प्रेसर थेरापी मेसिन (सी प्याप), १० थान  वाइलेवल पोजेटिभ एअरवे प्रेसर मेसिन (वी—प्याप), १० हजार थान अट्राक्सन किटसहित उपकरण प्राप्त गर्नेछन् । यसैगरी स्टाफ अब्जर्वेसन, भौतिक संरचना मर्मत सम्भार र व्यवस्थापनका लागि आर्थिक अनुदान प्राप्त गर्नेछन् ।

आज सम्झौता भएका अस्पतालहरुमध्ये सहिद गंगालाल ५ थान भेन्टिलेटर, शुक्रराज ट्रपिकल अस्पताललाई १० वेडको स्टाफ अव्जर्वेसन कक्ष स्थापनाका लागि करीब ११ लाख रुपैयाँ नगद र १० हजार थान अट्राक्टस किट खरिद गर्दाको बिलबमोजिम भुक्तानी गर्नुपर्ने रकम बराबर अनुदान सहयोग हुनेछ ।
‘कोविडको उपचारलाई प्रभावकारी बनाउने र संक्रमणको दर घटाउने दुवै कामलाई समान प्राथमिकता दिएर काम गर्नुपर्ने अवस्था छ । हाम्रो चाहना भेन्टिलेटर खरिद गर्नुभन्दा संक्रमण घटाएर स्वच्छ समाज निर्माण गर्नु हो । तर, महामारी फैलियो । अबको आवश्यकता भनेको अस्पतालमा भार घटाउनु नै हो ।’ सम्झौतापछि महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो, ‘महामारीको जोखिम घटाउन सरकार, अस्पताल र नागरिक सबैको समान दायित्व छ । सबैले आफ्ना—आफ्ना दायित्व पूरा गर्ने हो भने खतरालाई चाँडै नियन्त्रणमा लिन सकिन्छ ।’ उहाँले स्वास्थ्यकर्मीले अहिले गरेको काम अतुलनीय भएको बताउनुभयो । स्वास्थ्यकर्मीको हौसला बढाउनु अहिलेको अर्को मुख्य जिम्मेवारी हो । शाक्यको भनाइ थियो ।

त्यस क्रममा मध्यपुर थिमी नगरका प्रमुख मदनसुन्दर श्रेष्ठले, महानगरले अस्तालहरुलाई गरेको सहयोग अनुकरणीय रहेको उल्लेख गर्नुभयो । ‘भनेजस्तो गरेर अहिले ठूला अस्पताल बनाउन र सञ्चालन गर्न सजिलो छैन । यसबेला सजिला सर्त राखेर महानगरले अस्पतालको क्षमता बढाउन अनुदान उपलब्ध गराएको छ । यसबाट महानगरको अभिभावकीय भूमिका अझ बढेको छ ।’ उहाँले मध्यपुर थिमी नगरले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको क्षमता बढाउन महानगरले उपलब्ध गराएको सहयोगबाट अन्तरनगर सम्बन्ध अझ प्रगाढ भएको उल्लेख गर्नुभयो ।
‘काठमाडौँ महानगरले स्थापना गरिदिएको अक्सिजन प्लान्टका कारण अहिले गंगालाल अस्पतालले अक्सिजन खोज्न हिँड्नु परेको छैन । अहिलेको यो विषम परिस्थितिमा अस्पताललाई अक्सिजन खोज्नु जानु नपर्ने बनाउनु महानगरको सहयोग वास्तवमै अनुकरणीय छ ।’ गंगालाल अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले भन्नुभयो, ‘अब भेन्टिलेटर प्राप्त हुने भएको छ । यसको प्रयोगले अहिले कोविड भएका विरामी र पछि मुटुको शल्यक्रिया गरेका विरामीलाई जीवन रक्षा गरिनेछ ।’ उहाँकाअनुसार अस्पतालले यस अघि विरामीलाई अक्सिजन र भेन्टिलेटरको अतिरिक्त शुल्क लिएको छैन । अब पनि लिने योजना छैन ।

‘शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको समस्या अरुभन्दा भिन्न छ ।
अन्यत्र कतै पनि भर्ना नपाएका विरामी हामीकहाँ आउनुहुन्छ । ठाउँ नहुँदा हामीलाई बेड चाहिँदैन । बाहिरै भए पनि अलिकति अक्सिजन सुँघ्न पाए हुन्छ भन्नुहुन्छ ।’ अस्पतालका निर्देशक डा.सागरकुमार राजभण्डारी भन्नुहुन्छ, ‘विकास समितिअन्तर्गत चलेको यो अस्पतालका केही कर्मचारीहरुको सेवा कसरी उपलब्ध गराउने अस्पताललाई यो चिन्ता छ । नियमित आय छैन । अहिले महानगरबाट सहयोग पाए पछि आशा बढेको छ । हौसला मिलेको छ । यसप्रकारको सहयोग निरन्तर हुन्छ भन्ने अपेक्षा पनि छ ।’

Comments