कोविडविरुद्ध लड्न एकैदिन ७ वटा अस्पतालसँग सहयोग सम्झौता
जेठ १, २०७८, शनिबार | विहान ०५:०० बजे | 25
काठमाडौँ । कोविडको संक्रमण विरुद्ध लड्न काठमाडौँ महानगरपालिकाले बैशाख ३१ गते एकै दिन ७ वटा अस्पतालसँग सहयोग सम्झौता गरेको छ । यस अघि बैशाख २४ गते सम्झौता गरेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई २५ गते १० थान भेन्टिलेटर उपलब्ध गराइसकेको छ । त्यस्तै बैशाख २७ गते नरदेवी आयुर्वेदिक अस्पतालसँग अक्सिजनसहितको एचडीयु (हाइ डिफिसेन्सि युनिट) सेवा र आइसोलेसन केन्द्र सञ्चालन सम्झौता भइसकेको छ । यी सम्झौताहरु काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यको रोहवरमा महानगरकातर्फबाट जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले र अस्पतालकातर्फबाट सम्बन्धित अधिकारीहरुले हस्ताक्षर गर्नुभएको छ ।
बैशाख २८ गते महानगरले सरकारी र सामुदायिक अस्पतालका प्रमुख तथा प्रतिनिधिहरुलाई बोलाएर बढ्दो कोविडको संक्रमणविरुद्ध लड्न कस्तो सहयोग आवश्यक पर्छ भनेर सोधेको थियो । यसपछि अस्पतालहरुले आफ्नो क्षमता बढाउन आवश्यक पर्ने उपकरण तथा व्यवस्थापनका लागि सहयोग सम्बन्धि माग गरेका थिए । अस्पतालहरुको मागअनुसार सम्झौता गरिएको हो ।
अस्पतालको व्यवस्थापन तथा उपचार प्रणालीको सुधार तथा क्षमता वृद्धि गरेर संक्रमणमा परेका विरामीलाई बचाउन महानगरले आफ्नो क्षेत्रभित्र भएका सरकारी तथा सामुदायिक अस्पतालहरुलाई अनुदान दिने गरी सम्झौता गरेको हो ।
सम्झौतापछि प्रतिक्रिया दिँदै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो, ‘अहिले साना—साना युनिटमा आइसोलेसन वा उपचारका अन्य प्रणाली विकास गर्दा धेरै स्रोत र साधन खर्च हुन्छ । यी ठाउँहरु उपचारका लागि अन्तिम ठाउँ होइनन् । यहाँ कसैलाई जटिल समस्या भयो भने लानु पर्ने अस्पताल नै हो । त्यसैले हामीले भौतिक संरचना, विशेषज्ञ जनशक्ति र प्रणाली भएका सामुदायिक र सरकारी अस्पतालको क्षमता बढाउने निर्णय गरेका हौँ । यसले महामारी विरुद्धको लडाइँ प्रभावकारी हुन्छ भन्ने हामीले ठानेका छौँ । यो सहकार्य त्यसैका निम्ति हो ।’
अहिले आत्मबल बलियो बनाएर लड्नु पर्नेछ । सम्झौतापछि उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, भन्नुभयो, हामीले अस्पतालहरुसँग गरेको सहकार्यबाट विरामीहरुमा लाभ पुग्ने आशा छ । त्यहीअनुसार सेवा व्यवस्थापन गर्नुहोला ।’
आज सम्झौता भएका अस्पतालमध्ये वीरेन्द्र सैनिक अस्पताललाई सामाखुशीमा रहेको राधा स्वामी सत्संग ब्यासको भवनमा महानगरपालिकाको नामबाट अक्सिजन सहितको आईसोलेसन केन्द्र सञ्चालन गर्नेछ । जेठ १ गतेबाट ६ महिनाका लागि गरिएको सम्झौताबमोजिम काम सुरु गर्न महानगरले पहिलो किस्तास्वरुप २ करोड रुपैयाँ उपलब्ध गराउनेछ । त्यसपछिको अनुदान खर्च फाँटवारीमा आधारित हुनेछ । सम्झौतामा अस्पतालकातर्फबाट सहायक रथी कमाण्डान्ट डा. अरुण शर्माले हस्ताक्षर गर्नुभएको छ ।
महानगरले छत्रपाटी निःशुल्क चिकित्सालयलाई ३५ वेडको काठमाडौँ महानगरको कोविड अस्पतालका रुपमा सञ्चालन गर्नेछ । यसको पूर्वाधार विकासका लागि करीव ३० लाख रुपैयाँ र ३५ बेडको कोविड विशेष अस्पतालको समग्र व्यवस्थापन र आवश्यक जनशक्तिका लागि महानगरले मासिक करीव ४८ लाख रुपैयाँ व्यहार्नेछ । यो सम्झौता कोविडको महामारीका विषयमा महानगरले अर्को निर्णय नगरेसम्मका लागि हो । सम्झौताबमोजिम अस्पतालले खरिद गर्ने ३ वटा भेन्टिलेटरका लागि विलअनुसारको रकम महानगरले अनुदान स्वरुप उपलबध गराउनेछ । सम्झौतामा अस्पतालकातर्फबाट अध्यक्ष डा. मनोजमान श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । सम्झौता जेठ ७ गतेबाट लागु हुनेछ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा १५ वटा भेन्टिलेटर र ५० थान मोनिटर खरिद गर्ने रकम महानगरले अनुदान स्वरुप उपलब्ध गराउनेछ । सम्झौताबमोजिम अस्पतालहरुले खरिद गर्ने उपकरणहरुको भुक्तानीका लागि महानगरले विलबमोजिमको रकम अनुदान स्वरुप दिनेछ । सम्झौतामा अस्पतालका निमित्त निर्देशक प्रा.डा.शान्ता कुमारी कँडेल सापकोटाले हस्ताक्षर गर्नुभएको छ ।
निजामति कर्मचारी अस्पतालले महानगरसँग कन्टिन्युअस पोजेटिभ एअर प्रेसर थेरापी मेसिन (सी प्याप) १०–थान र वाइलेवल पोजेटिभ एअरवे प्रेसर मेसिन (वी—प्याप) १०–थान खरिद गर्न सहयोगको माग गरेको थियो । यही मागअनुसार दुवै पक्षविच सम्झौता भएको छ । यसमा अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. विधाननिधि पौडेलले हस्ताक्षर गर्नुभएको छ ।
महानगरले महेन्द्र नारायण निधि मेमोरियल अस्पताल, बसुन्धरा, हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पताल, चावहिल र जनस्वास्थ्य सरोकार ट्रष्ट काठमाडौँ मोडल अस्पताल, बागबजारलाई २÷२ थान भेन्टिलेटर मेसिन खरिद गर्न आर्थिक अनुदान दिनेछ । यी अस्पतालहरुलाई दिइने अनुदान रकम पनि विलबमोजिम नै हो । यी अस्पतालकातर्फबाट क्रमशः अध्यक्ष कृष्णकुमार मगर, मेडिकल डाइरेक्टर डा. हेम लिम्बू र मेडिकल डाइरेक्टर डा. विजेन्द्रध्वज जोशीले हस्ताक्षर गर्नुभएको थियो ।
महानगरले अनुदान दिएका अस्पतालहरुले आफूले दैनिक दिएको सेवाको विवरण महानगरलाई हरेक दिन पठाउनुपर्छ । यस्तै खर्च र लेखा परीक्षण प्रचलित कानुनले दिएको अधिकारबमोजिम गर्नुपर्छ । लेखा परीक्षणको प्रतिवेदन महानगरलाई पनि बुझाउनु पर्छ । यसै गरी महानगरको सहयोगमा खरिद गरिएका उपकरणमा ‘काठमाडौँ महानगरको सहयोगमा’ लेख्नुपर्नेछ । परिस्थिति र आवश्यकताका आधारमा सम्झौता थप गरेर साझेदारिता निरन्तर हुन सक्ने सम्झौतामा उल्लेख छ ।
सहयोग प्राप्त गर्ने कसले के भने
प्रा. डा. शान्ताकुमारी कँडेल सापकोटा
निमित्त निर्देशक, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल
हामीसँग नवनिर्मित भवन छ । सरकारबाट यसलाई कोविड अस्पताल बनाउने निर्णय भइसकेको छ । अहिलेको समस्या भनेको अक्सिजन हो । कोविडको संक्रमणबाट अस्पतालमा उपचार गर्नु पर्नेमध्ये धेरै विरामीलाई अक्सिजनको आवश्यकता पर्ने हुन्छ । त्यसैले महानगरको सहयोग यहाँनिर पनि जरुरी छ । अहिले महानगरबाट प्राप्त भएको भेन्टिलेटर र मोनिटर खरिदका लागि प्राप्त भएको सहयोगले जीवनको जटिल अवस्थामा पुगेका विरामीलाई पुनःजीवन दिनेछ ।
डा. मनोजमान श्रेष्ठ
अध्यक्ष, छत्रपाटी निःशुल्क चिकित्सालय
पैसा भएर मात्र बाँचिने होइन रहेनछ । बाँच्नका लागि उपचार प्रणाली व्यवस्थित हुनुपर्ने रहेछ भन्ने महामारीले सिकाएको छ । अहिले कतै स्रोत छैन, कतै सोच छैन । महानगरको अभिभावकत्वमा हामी अस्पतालबाट धेरैभन्दा धेरै विरामीलाई लाभ हुने काम गर्ने प्रयास गर्नेछौंँ ।
हामीले यो अस्पताललाई महानगरको व्यवस्थापनमा सञ्चालन गर्नुपर्छ भनेर पहिले पनि भनेका थियौँ । अहिले अस्पतालको प्रशासनिक र व्यवस्थापकीय खर्च प्राप्त हुने भएको छ । यसबाट विरामीहरुलाई उच्चतम लाभ दिनेछौँ ।
डा. विधाननिधि पौडेल
कार्यकारी निर्देशक, निजामति कर्मचारी अस्पताल
अहिले हाम्रो अस्पतालमा कोविडका विरामीको चाप बढेको छ । अस्पतालको क्षमता १३२ वेडको हो । हामी महानगरको सहयोगमा १५० पु¥याउँछौँ । अहिले अक्सिजनको अभाव छ । यसबेला महानगरबाट प्राप्त कन्टिन्युअस पोजेटिभ एअर प्रेसर थेरापी मेसिन (सी प्याप) १०–थान र वाइलेवल पोजेटिभ एअरवे प्रेसर मेसिन (वी—प्याप) उपकरणबाट विरामीलाई जटिल अवस्थामा पुग्नबाट बचाउँछौँ ।
कृष्णकुमार मगर
अध्यक्ष, महेन्द्र नारायण निधि मेमोरियल अस्पताल,
यो भेन्टिलेटर भनेको मानिसको पुनर्जीवन दिने उपकरण हो । उपचारका अन्य विधि सकिएपछि यसबाट उपचार गर्ने हो । स्रोतका अभावमा अस्पतालहरुले यस्ता उपकरण राख्न सकेका थिएनन् । महामारीका बेला हामीले महानगरको सहयोगमा भेन्टिलेटर खरिद गर्ने अवसर पाएका छौँ । यसको प्रयोग गरेर हामी धेरैभन्दा धेरै मानिसहरुलाई बचाउने प्रयास गर्नेछौँ ।
डा. हेम लिम्बू
मेडिकल डाइरेक्टर, हेल्पिङ् ह्याण्डस सामुदायिक अस्पताल
अस्पताललाई जरुरी भइकन पनि स्रोतको अभावमा हामीले भेन्टिलेटर खरिद गर्न सकेका थिएनौँ । विषम परिस्थितिमा महानगरबाट प्राप्त भएको जीवन प्रदायक यो सहयोगबाट अस्पताल विरामीको सेवामा थप शसक्त भएको छ । भेन्टिलेटर कोविड सकिएपछि पनि आवश्यक रहन्छ । अस्पतालमा आवश्यक पर्ने अन्य प्रणाली र उपकरणका लागि हामीले महानगरसँग थप सहयोगको अपेक्षा गरेका छौँ ।
डा. विजेन्द्रध्वज जोशी
मेडिकल डाइरेक्टर, जनस्वास्थ्य सरोकार ट्रष्ट काठमाडौँ मोडल अस्पताल
हाम्रो अस्पतालमा अहिले विरामीको संख्या बढिरहेको छ । कोविड संक्रमणबाट स्वास्थ्य अवस्था जटिल बन्दै गरेका विरामीलाई आईसीयु र भेन्टिलेटरकै आवश्यकता पर्दछ । रोगले च्यापेको जटिल अवस्थाबाट सामान्य अवस्थामा फर्काउन यही उपकरण नभइ हुँदैन । यसबेला महानगरबाट प्राप्त सहयोगबाट धेरैभन्दा धेरै विरामीलाई लाभ पु¥याउने छौँ ।
एचडीयु, आइसियु र भेन्टिलेटर सञ्चालन गर्न अक्सिजन प्राप्त हुनुपर्छ । त्यसैले अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गर्न, सिलिन्डर वा आन्तरिक उत्पादनबाट अक्सिजन नहुँदा विकल्पका रुपमा प्रयोग गर्न सकिने उपकरण प्राप्त गर्नमा महानगरको सहयोग निरन्तर चाहिने चिकित्सकहरुको साझा धारणा थियो ।