एस.इ.ई.को आन्तरिक मूल्यांकन ‘कोरोना ब्याच’को ट्याग नलागोस ।
असार ८, २०७७, सोमबार | विहान ०३:५६ बजे | 5
राकेश सुकुपायो, शिक्षक, आदर्श आजाद मा.वि.,भक्तपुर
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९(कोरोना भाइरस) को संक्रमण जोखिमको कारण २०७६ सालको एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भैसकेर पनि पूर्वसन्ध्यामा आएर स्थगित भयो । तत्पश्चात एस.इ.ई. परीक्षा हुने नहुने अन्यौलताका बीचमा करिब ३ महिना पछि मन्त्रीपरिषदको २०७७ जेठ २८ गतेको बैठकले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा(एस.इ.ई) नगर्ने र विद्यालयबाटै मूल्याङ्कन गरेर राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्ने निर्णय गरिएको थियो । यसबीच सो बिषयमाथि छलफल सुरु भएको छ । छलफल आवश्यक पनि छ । बिचार मन्थन हुनैपर्छ, त्यसबाट मात्र राम्रो निष्कर्षमा पुग्न सकिन्छ । किनकी यस वर्ष चार लाख बयासी हजार सात सय सात जना विद्यार्थीको भविष्य विद्यालयको आन्तरिक मूल्यांकनबाट तय गरिँदैछ । आन्तरिक मूल्याङ्कनको आधारमा ग्रेडसिट प्रमाणपत्र वितरण गरिदैछ । त्यसका लागी आन्तरिक मूल्याङ्कनको कार्यविधि बनाउन राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालको संयोजकत्वमा कार्यदल समेत बनाइएको छ । आशा छ , कार्यविधि चांडो आउनेछ र कार्यविधिले व्यवहारिकतामा जोड दिएको हुनेछ ।
यस्तो विषम परिस्थितिमा वैकल्पिक खालको मूल्याङ्कन पद्धतिमा आन्तरिक मूल्याङ्कनलाई चयन गर्नु उपयुक्त छ । आन्तरिक मूल्यांकनको प्रमुख भूमिकामा प्रत्यक्ष संलग्न रहेका विषयगत शिक्षकहरु, विद्यालय प्रशासन र प्रधानाध्यापक नै रहनेछन । त्यसैले आन्तरिक मूल्यांकन प्रणालीलाई कार्यान्वयन गर्दा बैज्ञानिक तवरले व्यवहारिकतामा आधारित भएर गर्नु आवश्यक छ ।
नेपालको शैक्षिक इतिहासमा एसएलसीको शुरूवात १९९१ मा भयो भने २०७२ सालमा अन्त्य भयो । शैक्षिक प्रणाली परिवर्तनशील हुन्छ, सोही अनुरुप विद्यार्थी मूल्यांकन, प्रमाणिकरणमा सान्दर्भिकता, पारदर्शिता, वस्तुनिष्ठता र विश्वसनीयता कायम गर्न २०७१ सालमै प्राविधिक विषयतर्फ र २०७२ सालदेखि साधारण विषयतर्फ पनि अक्षरांकन पद्धति(लेटर ग्रेडिङ सिस्टम) लागू गरियो । जसको उद्देश्य विद्यार्थीलाई परीक्षामुखीभन्दा व्यवहारमुखी बनाउनु हो ।
यसबीच अभिभावक,विद्यार्थी तथा शिक्षक, विद्यालय संचालकहरु लगायत शिक्षासँग सरोकार राख्ने सबैको ध्यान आकृष्ट गरेको छ, ‘आन्तरिक मूल्याङ्कन’ को विषयले । यो सम्बन्धमा अधिकांश सरोकारवालाहरु अन्यौलमै रहेको देखिन्छ । यसैले पनि ‘कुन परीक्षालाई आन्तरिक परीक्षा मान्ने ?, कसरी आन्तरिक मूल्यांकन गर्ने ?’ जस्ता प्रश्नहरु सतहमा आएका छन् । सरकारले वर्षौं अगाडि नै सेन्ट अप परीक्षा खारेज गरेको थियो भने विद्यालयहरुले आ आफ्नो अनुकूलतामा एस.इ.ई. तयारी परीक्षा भनेर पहिलेकै सेन्ट अप परीक्षालाई नाम मात्रै परिवर्तन गरेर भए पनि हालसम्म सञ्चालन गरिरहेका छन ।
जुनसुकै कार्यको सही मूल्यांकन आवश्यक हुन्छ । जहाँसम्म शिक्षाक्षेत्रको कुरो छ, यस क्षेत्रमा त मूल्यांकन बिना प्रमाणपत्र दिन कदापि सकिन्न । अहिलेको सन्दर्भमा परीक्षा नगर्ने विकल्पको रुपमा आन्तरिक मूल्यांकनलाई अघि सारेकोले मूल्यांकन गर्दा ४ वटा पक्षलाई ध्यान दिनुपर्ने देखिन्छ ।
१.आन्तरिक परीक्षाहरुको ल्याकत
कक्षा १० का विद्यार्थीहरुको वर्ष भरिको आन्तरिक परीक्षाहरुको अंक जोडेर आन्तरिक मूल्यांकन गर्न सकिनेछ । जस्तै, प्रथम र द्वितीय त्रैमासिक परीक्षाको २०र२०५ र एस.इ.ई.तयारी परीक्षाको ६०५ को योगफलको आधार मानेर मूल्यांकन गर्न सकिन्छ ।
२. निरन्तर मूल्यांकन पद्धति
विद्यार्थीको वैयक्तिक विवरण विद्यालय रेकर्डमा हुँने हुँदा त्यस्ता हरेक व्यक्तिगत प्रोफाईलबाट एक वर्ष भरीको प्रत्येक विद्यार्थीको व्यवहारदेखि विषयगतसम्मको सिकाइ उपलब्धिलाई मूल्यांकनको आधार मान्न सकिन्छ ।
३.एस.इ.ई. तयारी परीक्षा (साविकको टेष्ट तथा सेन्टअप)
सरकारले टेस्ट परीक्षा अर्थात साविकको सेन्ट अप परीक्षा खारेज गरे पनि विद्यालयले आ आफ्नो क्षमता अनुकूलतामा हालसम्म पनि त्यस्ता परीक्षाहरु संचालन गरिरहेको कुरा कतैबाट लुकेको छैन । जसलाई एसइई. तयारी परीक्षा भनिएको छ । जुन परीक्षालाई तुलनात्मक रुपमा एस.इ.ई.मा सोधिने प्रश्नहरुभन्दा अलि कठिन बनाएकै हुन्छ ताकि त्यसले एसइईमा राम्रो ग्रेड ल्याउन सघाओस् भन्ने उद्देश्य राखिएको हुन्छ । यसको आधारमा पनि आन्तरिक मूल्याङ्कन गर्न सकिन्छ ।
४. विगतको नतिजा विश्लेषण
विद्यालयको विगतका कम्तिमा १ देखि ३ वटासम्म शैक्षिक वर्षको एस.इ.ई. नतिजा र एस.इ.ई तयारी परीक्षा(साविक सेन्ट अप)को नतिजालाई तुलना गरेर विद्यालयले आफ्नो स्तर निर्धारण गरी यसको आधारमा यसवर्षको नतिजाको स्तरीकरण गर्न सकिन्छ । औषतमा नतिजालाई विश्लेषण गर्ने हो भने एस.इ.ई तयारी परीक्षाको नतिजामा भन्दा एस.इ.ई.को नतिजामा प्राय विद्यार्थीको औषत अंकमा करिब ६ देखि १० प्रतिशत अंकले वृद्धि भएको पाउन सकिन्छ । यसलाई पनि आन्तरिक मूल्यांकनको एउटा आधारको रुपमा लिन सकिन्छ ।
माथि उल्लेखित ४ वटा पक्षहरुको आधारमा आन्तरिक मूल्याङ्कन गर्दा कुराहरु निम्नानुसारका कुराहरुमा ध्यान दिनुपर्ने देखिन्छ ।
१.नियमित आन्तरिक परीक्षा सञ्चालन भएको र ती परीक्षाको ल्याकत राखिएको हुनुपर्ने ।
२.निरन्तर मूल्याङ्कन प्रणालीका आधारभूत नियम पालना भएको र विद्यार्थीहरुको व्यक्तिगत प्रोफाईल नियमित रुपमा अपडेट भएको हुनुपर्ने । शैक्षिक देखि विद्यार्थीको व्यवहार परिवर्तनसम्मका सवै विषयको अभिलेखिकरण हुनुपर्ने ।
३.सेन्ट अप वा एस.इ.ई परीक्षा सञ्चालन गरेको हुनुपर्ने र त्यसको ल्याकत राखिएको हुनुपर्ने ।
आन्तरिक मूल्यांकनमा शिक्षक तथा विद्यालय
विद्यार्थीहरुको वैयक्तिक भिन्नता हुने भएकोले विद्यार्थीहरुको ज्ञान, सीप र धारणा राख्ने तथा सिकाइ क्षमता तथा दक्षतामा पनि भिन्नता आउनु स्वभाविक हो । विद्यालय वा शिक्षकहरुले आआफ्नो विद्यार्थीलाई अंक प्रदान गर्दा उनीहरुको क्षमतालाई ध्यानमा राख्नुपर्छ । ताकि भविष्यमा त्यही शिक्षकको मूल्यांकनबाट प्राप्त अंकले उच्च मनोबलका साथ एउटा असल, योग्य र सक्षम नागरिकको रुपमा जिन्दगी जिउन सकून । न कि त्यही अंक बोझ बनेर अयोग्य, अदक्ष नागरिक हुन परोस् ।
शिक्षक तथा विद्यालयलाई आआफ्नो विषयगत तथा विद्यालयको स्तर थाहा हुनुपर्छ । त्यही स्तरलाई आधार मानेर मूल्याङ्कन गर्दा पनि उचित हुने देखिन्छ । यहाँ आन्तरिक मूल्यांकन भन्नासाथ शिक्षकको गोजीमा अंक हुन्छ भन्ने परम्परागत मान्यता अझैसम्म ब्याप्त छ । त्यसैले प्रत्येक बिषय शिक्षकहरुलाई यो मूल्यांकनमा अनिवार्य सहभागी गराउन आवश्यक छ । शिक्षकहरु स्वयंम पनि आन्तरिक मूल्यांकन गर्ने बिषयमा चनाखो हुनैपर्छ । यस्तो मूल्यांकनमा नजानिदो तरिकाले विभेद हुन जान सक्ने खतरा हुन्छ । सकेसम्म यस्तो बिभेदलाई हुनै नदिने र भैहाले पनि न्यून होस भन्नेमा सचेत हुनुपर्छ । यसका लागी प्रत्येक विद्यार्थीलाई निरन्तर मूल्यांकनको दायरामा ल्याएर कक्षागत हाजिरी, कक्षाकार्य, अतिरिक्त क्रियाकलाप, गृहकार्य, अनुशासन, कक्षा प्रस्तुतिकरण, विद्यार्थीको सक्रियता तथा आन्तरिक परीक्षाका नतिजाहरु जस्ता पक्षलाई विश्लेषण गरी अंक प्रदान गर्ने स्पष्ट आधार तयार गर्नुपर्छ । यसले मूल्याङ्कन गर्न सहजता प्रदान गर्छ ।
नेपालमा शिक्षालाई संस्थागत तथा सामुदायिक विद्यालय शिक्षामा वर्गिकरण गरेको छ । विषयगत प्रयोगात्मक परीक्षालाई जसरी औपचारिकतामा सीमित गरेर अंक प्रदान गर्ने परम्परागत प्रणाली स्थापित भैरहेको छ । त्यसरी नै एस.इ.ई.को आन्तरिक मूल्यांकनलाई औपचारिकतामा सीमित गर्नु विद्यार्थीको भविष्यमाथि खेलवाड गर्नु हुनेछ । अर्कोतर्फ आफ्नो विद्यालयको स्तरलाई बढाउने हेतुले आन्तरिक मूल्यांकनमा अनावश्यक चलखेल गर्नु विद्यालय व्यवस्थापनलाई पनि नैतिकताले दिँदैन । यसो हुन गए आन्तरिक मूल्यांकन प्रणाली प्रभावित भई गलत मूल्यांकनको शिकार मिहेनती,जेहेन्दार बालबालिकाहरु हुनेछन । त्यसैले विद्यालय तथा शिक्षकहरु स्वच्छ मूल्याङ्कनको लागि हरदम प्रयासरत हुनुपर्छ ।
आन्तरिक मूल्यांकनमा विद्यार्थी र अभिभावक ।
सिकाइले व्यवहारमा सकारात्मक परिवर्तन गराउँछ । मूल्यांकनले व्यवहार परिवर्तनको मापन गर्छ । उच्च आकांक्षा राख्नु मानवीय स्वभाव हो । हरेक अभिभावकले आआफ्ना नानीहरुको राम्रो भविष्यको लागि उच्च ग्रेडको अपेक्षा गर्नु न्यायोचित छ । विद्यार्थीहरुले पनि आफूले उत्कृष्ट अंक पाओस भन्ने आशा गर्नु स्वभाभिक नै हो । तर यस्तो भनिरहँदा अभिभावकहले पनि आफ्नो नानीहरुको क्षमतालाई बिर्सेर आन्तरिक मूल्यांकनलाई प्रभावित हुने गरी शिक्षक तथा विद्यालयलाई दबाब दिनु हुन्न । कतिपय अभिभावकहरुले विद्यालय विकास कोष, आर्थिक तथा भौतिक सहयोगका नाउँमा आन्तरिक मूल्यांकन प्रणालीलाई कमजोर बनाउने प्रयास गर्छन । त्यसैले हरेक विद्यार्थीले आ आफ्नो विद्यालयको आन्तरिक परीक्षाहरु प्रथम,द्वितीय तथा एस.इ.ई तयारी परीक्षाको नतिजाको विश्लेषणबाट एउटा निचोड निकाल्ने प्रयास गर्नुपर्छ जसले गर्दा शिक्षकहरुबाट गरिने आन्तरिक मूल्याङ्न पनि विश्वसनीय हुन पुग्छ । यस कुराको लागि शिक्षक, विद्यार्थी तथा विद्यालय तीनै पक्षले ईमान्दारिता देखाउनै पर्छ ।
अन्त्यमा
भनिन्छ, चुनौतीलाई अवसरले पछ्याईरहेको हुन्छ । चुनौतीले मानिसलाई परिपक्व बनाउछ । सन २०१९ जनवरीमा उहानबाट फैलिएको विश्व महामारी भैरहेको कोभिड १९ ले पनि मानब जगतलाई विभिन्न आयामबाट पाठ सिक्ने मौका दिएको छ । शैक्षिक जगतलाई पनि वैकल्पिक प्रणालीमा जाने अवसर दिएको छ । एस.इ.ई परीक्षाको विकल्प आन्तरिक मूल्याङ्कन भएको हुँदा हामी अभिभावक, शिक्षक तथा विद्यालय व्यवस्थापनले विश्वसनीय र सही मूल्यांकन गर्न सहयोग गरौं ताकी हाम्रा बालबालिकाहरु जिन्दगीको लागि तयार होउन । जिन्दगीका हरेक चुनौतीलाई चिरेर अवसर सिर्जना गर्न सक्ने सक्षम, योग्य नागरिक तयार होऊन ।