स्वयम्भूमा पुनर्निर्मित भवनहरू हस्तान्तरण
बैशाख १४, २०७८, मङ्गलबार | विहान ०८:१६ बजे | 35
काठमाडौं । वि.सं. २०७२ साल वैशाख १२ गतेको महाविनाशकारी भूकम्पले क्षतिग्रस्त हुने पुगेको स्वयम्भू परिसरस्थित काग्यु कर्मपा सम्प्रदायको कर्मराज महाविहार र स्वयम्भू महाचैत्यका बुद्धाचार्य पुजारीहरूको निवासको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । पुनर्निर्माण सम्पन्न भएका बुद्धाचार्य पुजारीका घरहरू हिजो सोमवार एक समारोहकाबिच सम्बन्धित घरधनीहरूलाई हस्तान्तरण गरियो ।
काठमाडौं महानगरपालिका १५ वडा कार्यालयको नेतृत्वमा स्वयम्भू पुनर्निर्माण समितिले पुजारी परिवारका १७ वटा घर र कर्मराज महाविहार (गुम्बा) को पुनर्निर्माण गरेको थियो । यसको लागि आवश्यक बजेटेको व्यवस्था कर्मराज महाविहारका प्रमुख १७ औं अवतारी गुरु थिन्ले थाय दोर्जेज्यूले गर्नुभएको थियो । उहाँ र उहाँको सुखावती फाउण्डेशनबाट प्राप्त भएको १३ करोड ५३ लाख रुपैयाको लागतबाट महाविहारको भवन र पुजारी परिवारका १७ वटा घरहरू पुनर्निर्माण गरिएको थियो ।
कार्यक्रममा मन्तव्य राख्ने क्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले अहिले राजधानीमा कुनै जीर्ण सम्पदा पुनर्निर्माण गर्न थाल्यो कि विरोध गरिहाल्ने समूह सक्रिय भइरहेको बताउँदै यस्तो अवस्थामा पनि स्वयम्भू जस्तो विश्व सम्पदा सूचीमा सूचीकृत धार्मिकस्थलमा विहार र पुजारी परिवारको घर पुनर्निर्माण सम्पन्न गर्न सक्नु अत्यन्तै ठूलो कुरा भएको बताउनुभयो । हाल निर्माणाधीन कमल पोखरीमा पनि यसरी नै विरोध भइरहेको बताउँदै उहाँले अब अदालतले नै काम नगर भनेको अवस्थामा बाहेक दुई चार जना मानिसहरू कराएको भरमा कुनै पनि सम्पदा निर्माण नरोकिने प्रतिवद्धता पनि जनाउनुभयो ।
प्रमुख अतिथि तथा सोही क्षेत्रका सांसद जीवनराम श्रेष्ठले स्वयम्भूलाई ‘मंकी टेम्पल’ भनेर भन्दा पनि स्वयम्भू नै भनेर परिचित गराउनुपर्ने विचार राख्दै यदि जनप्रतिनिधिहरू जुट्यो भने जस्तोसुकै जटिल कार्य पनि गर्न सकिँदो रहेछ भन्ने उदाहरण स्वयम्भूको यो पुनर्निर्माणले देखाएको बताउनुभयो । स्वयम्भूका १७ वटा पुजारी घरलाई हाउस पुलिङ गरी निर्माण गर्नु अहिले अरुका लागि समेत नमूना कार्य भएको पनि उहाँले बताउनुभयो ।
काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले काठमाडौंका हरेक पोखरीले इतिहास बोकेको हुन्छ, भन्दै यसलाई तराईका माछा पाल्ने पोखरीसँग तुलना नगर्न अनुरोध गर्नुभयो । उहाँले निर्वाचित जनप्रतिनिधिहरू आइसके पछि धेरै नै सम्पदाहरू पुनर्निर्माण थालिएको बताउँदै प्रतिप्रश्न गर्नुभयो, ‘यहाँको सम्पदालाई हामी आफैले संरक्षण नगरे अरु कसले संरक्षण गर्छ ?’
पुरातत्व विभागका पूर्व महानिर्देशक भेषनारायण दाहालले स्वयम्भूमा हाउस पुलिङ विधिबाट गरिएको यो निर्माण कार्यलाई युनेस्कोले पनि स्याबासी दिने दावी गर्दै भन्नुभयो, ‘स्वयम्भूमा धेरै बोझ हुने कार्य गर्नुभएन भन्ने जर्मनहरूको सुझावलाई कदर गर्दै हाल यस क्षेत्रमा ३५ फिटको सट्टा अहिले २७ फिट अग्लो घर मात्रै बनाउन पाइने नियम बनाएका थियौँ, यो नियमलाई यो पुनर्निर्माण कार्यले पूर्ण रुपमा पालना गरेको छ ।’
कार्यक्रमका सभापति स्वयम्भू पुनर्निर्माण समितिका अध्यक्ष एवं वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोलले पूजनीय १७ औं कर्मपा थिन्ले थाय दोर्जेज्यूको आर्थिक सहयोगमा पुनर्निर्माण सम्पन्न भएको यो कार्यमा अपनाइएको हाउस पुलिङ विधि काठमाडौंमै पहिलो योजना भएको बताउनुभयो ।
सोही कार्यक्रममा कर्मराज विहारमा स्थापना गरिएको शिलापत्र अनावरण गर्दै पुनर्निर्माण कार्यको उद्घाटन गरिएको थियो । कार्यक्रममा हाल भारतको नयाँ दिल्लीमा रहनुभएका पूजनीय १७ औं कर्मपा थिन्ले थाय दोर्जेज्यूले पठाउनुभएको सन्देश पनि सुनाइएको थियो भने कर्मपा विहारको इतिहास बारे सोही विहारका प्रतिनिधि स्याब्चु रिम्पोचेले चर्चा गर्नुभएको थियो ।