कक्षा १ मा पढ्छन् भूकम्पमा २२ घण्टा पुरिएका सोनिश
बैशाख १२, २०७८, आइतबार | विहान ०६:२९ बजे | 25
भक्तपुरको ब्यासीस्थित एक निजी विद्यालयमा कक्षा १ मा पढ्छन् । उनी टोल छिमेकका अरू बालबालिकासँग खेल्छन्÷कुद्छन् । एकै ठाउँमा बसिरहन मन पराउँदैनन् । चञ्चले छन् । उनलाई भूकम्पबारे खासै थाहा छैन । आफन्तलाई भने त्यो दिनको झझल्को आइरहन्छ ।
भूकम्पको धक्काले घर भत्किएर पुरिएका उनलाई नेपाली सेनाले उद्धार गरेको थियो । पढाइका लागि वार्षिक ५० हजार रुपैयाँ सहयोग गर्दै नेपाली सेनाले उनलाई स्नातक तहसम्म अध्ययनका लागि सहयोग गर्ने प्रतिबद्धता गरेको छ । ‘सेनाले कक्षा ६ देखि ब्याचलरसम्म सैनिक विद्यालयमा निःशुल्क पढाउने भनेको छ,’ आमा रश्मिलाले भनिन् ।
सोनिश पढाइमा अब्बल छन् । विद्यालय जान थालेपछि छोराको बुझ्ने क्षमतामा वृद्धि भएको र तेज हुँदै गएको रश्मिलाले महसुस गरेकी छन् । ‘पढाइमा तेज छ, ए प्लस रिजल्ट ल्याउँछ,’ उनले भनिन् । सोनिश खेलप्रति रुचि राख्छन् । विद्यालयका कक्षाबोहकका अतिरिक्त क्रियाकलापमा भाग लिइरहन्छन् । विद्यालयमा कहिलेकाहीं भूकम्पको कुरा सुन्दा घरमा आएर त्यसबारेमा थप बुझ्ने प्रयास गर्छन् । कोठाको भित्तामा झुन्ड्याइएको सेनाले उद्धार गरेपछिको आफ्नो फोटो हेर्दै दंग पर्छन् । छोराको रुचिअनुसार पढाउने र असल नागरिक बनाउने अभिभावकको चाहना छ ।
घर माटोमा मिले पनि त्यस दिन रश्मिला र उनका पति श्याम अवालको संसार उजाडिनबाट जोगियो । उनीहरूले भग्नावशेषमा आफ्नो छोराछोरी गुमाउनु परेन । भूकम्पपछिको झन्डै वर्ष दिन अस्थायी टहरामा बिताएका चार जनाको परिवार अहिले भक्तपुर नगरपालिका ब्यासीमा भाडाको एउटा कोठामा जिन्दगी गुजारिरहेको छ । उनीहरूको एक कोठे डेरामा मुस्किलले दुइटा खाट अडिएको छ । दराज र केही सामान एक ठाउँ थुपारिएका छन् । कोठा बाहिरको बरन्डामा चुलो छ ।
भूकम्पले भग्नावशेषमा परिणत भक्तपुर–१० मूलढोकाको घर उभ्याउन सकेका छैनन् । स्वबासीको नाममा रहेको ३ पैसा क्षेत्रफल जग्गामा निर्मित ४ दाजुभाइको बहुस्वामित्वको घर थियो । ‘घरको लालपुर्जा छैन, भएको जग्गा पनि सडकको मापदण्डमा परेको छ,’ सोनिशका बुबा श्याम अवालले भने, ‘हामी सुकुम्बासी भयौं, अन्त कतै पनि जग्गा छैन ।’
सोनिशको परिवारलाई बासको व्यवस्था गर्ने त्यतिबेलाका सरकारले आश्वासनसमेत दिएको थियो । ‘केपी शर्मा ओली पहिलोपल्ट प्रधानमन्त्री हुनु हुँदा नै हामीलाई घर बनाइदिने आश्वासन दिनुभएको थियो,’ रश्मिलाले भनिन्, ‘हामीलाई भेटेरै उहाँले घरजग्गाको व्यवस्था गरिदिने भन्नुभएको थियो, अब त बिर्सिनुभयो होला ।’
सोनिशका बाबु श्याम अर्काको ट्रक चलाउँछन् । रश्मिला सिलाइकटाइको काम र छोराछोरी स्याहार गर्छिन् । ‘हामीलाई खानाको समस्या छैन, नङ्ग्रा खियाएर पेट पाल्छौं,’ उनले भनिन्, ‘हामीलाई छानोको समस्या छ ।’ यतिबेला कोरोनाको महामारीले काम गर्न पनि समस्या भएको उनी बताउँछिन् ।
सोनिशकी दिदी सोनिया ९ कक्षामा पढ्छिन् । भूकम्पपछि दाताको सहयोगमा उनी पढिरहेकी छन् । भाइलाई सेनाले उद्धार गरेर बचाएकाले आफूले पनि पढेर सेनाकै नर्सिङ पेसामा जाने इच्छा रहेको उनी बताउँछिन् ।