झीगु ख्वप बचतको खुल्ला चित्रकला प्रतियोगिता सम्पन्न
बैशाख ११, २०७८, शनिबार | विहान १०:३७ बजे | 35
भक्तपुर । ६४ औं राष्ट्रिय सहकारी दिवस तथा नव वर्ष २०७८ को पावन अवसरमा झीगु ख्वप बचत तथा ऋण सहकारी संस्था लि. गोल्मढीको अतिरिक्त क्रियाकलाप उप–समितिको सक्रियतामा शनिबार १६ वर्षमुनिका बालबालिकाहरुको खुल्ला चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । भक्तपुर दरबार क्षेत्रमा भएको उक्त प्रतियोगिताको शुभारम्भ संस्थाका सञ्चालक समितिका अध्यक्ष बलराम गोसाईले निर्णायक कलाकार एवं शिक्षक नारायण बोहजूलाई प्रतियोगिता सामग्री हस्तान्तरण गरी गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि गोसाईले चित्रकला प्रतियोगिताले विद्यार्थीहरुमा अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्ने अवसर पाउने र चित्रकलाको ज्ञानले विद्यार्थीहरुमा हरेक विषयमा आफ्नो ठोस दृष्टिकोण बनाइ गुणस्तरीय जीवन यापन गर्न समेत सहयोग गर्ने भएकोले संस्थाले चित्रकला प्रतियोगितालाई निरन्तरता दिइरहेको विचार व्यक्त गर्नुभयो । संस्थाको अतिरिक्त क्रियाकलाप उप–समितिका संयोजक प्रकाश गोसाईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा निर्णायक नारायण बोहजूले प्रतियोगिहरुलाई प्रतियोगिता सम्बन्धी आवश्यक नियम प्रकाश पार्नुभयो भने कार्यक्रमको सञ्चालन शिक्षा उप–समितिका संयोजक लक्ष्मीसुन्दर सुवालले गर्नुभएको थियो । प्रतियोगितामा १३ जना विद्यार्थीहरुको सहभागिता रहेको छ र प्रतियोगिताको नतिजा केही दिनपछि प्रकाशन गर्ने संस्थाले बताएको छ ।