घरेलु महासंघद्धारा निर्यात गृह खोल्न स्थान उपलव्ध गराउन माग
असार ६, २०७७, शनिबार | विहान १०:३० बजे | 55
काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले लघु, घरेलु तथा साना उद्योगहरूबाट उत्पादित बस्तुहरू स्थानीय निकायमा उपभोग गर्नुको साथै स्वदेश तथा बिदेशमा बिक्री बितरण गर्न निर्यात गृह खोल्नको लागि महानगरपालिकालाई स्थान उपलब्ध गराउन आग्रह गर्न महासंघका निवर्तमान अध्यक्ष सुरेश प्रधानको नेतृत्वमा महासचिव डम्बर प्रसाद रेग्मी, केन्द्रिय कोषाध्यक्ष सत्यनारायण प्रजापति, प्रदेश उपाध्यक्ष राजेन्द्र श्रेष्ठ र काठमाडौं अध्यक्ष सिता कार्की लगायतका प्रतिनिधि मण्डलले काठमाडौ महानगरपालिकाका मेयर बिद्या सुन्दर शाक्यसंग उहाँकै कार्यकक्षमा भेटगरी महासंघको सुझाव तथा प्रस्ताव पत्र हस्तान्तरण गर्नुभयो । काठमाडौ जिल्ला , बाग्मती प्रदेश र नेपाल भित्र रहेका लघु घरेलु तथा साना उद्योगहरूले उत्पादन गरेका बस्तुहरूको स्थानीय निकायमा प्रयोग गर्नुपर्नेमा काठमाडौ महानगरपालिकाबाटै शुरुवात गर्न पनि अनुरोध गर्नुभयो । काठमाडौ महानगरपालिकाका मेयरबाट महासंघको तर्फवाट गरिएको प्रस्तुतीकरणलाई गम्भीरताका साथ ग्रहण गर्नुभयो । मेयरले महानगरपालिकाले महासंघसंग पहिलादेखि नै सहकार्य गर्दै आइरहेको स्मरण गराउनुभयो । उहाँले आगामी दिनहरूमा पनि महासंघसंग सहकार्य गर्दै जाने बिश्वास दिलाउनु भयो । आ.व. ०७७र७८ को निति तथा कार्यक्रम बनाउदै गरेको ठिक समयमा नेपाली उत्पादनहरुको बिक्री बितरण तथा स्थानीय उपभोग बारेमा राम्रो प्रस्ताव ल्याएकोमा महासघंलाई धन्यवाद पनि दिनुभयो । काठमाडौ महानगरपालिकाको मेयर साहेबले नीति तथा कार्यक्रममा महासघंको सुझाबहरू समेतिन कोशिस गर्न सक्ने जानकारी गराउनुभयो । महासंघको प्रस्ताबमा बुंदागत रूपमा धेरै कुराहरू अनुरोधगरिएका छन् ।
१) लघु, घरेलु तथा साना उद्यम व्यवसायलाई राहत दिनुपर्ने,
२) स्टीमुलस प्याकेजलाई चक्रीय कोषको स्थापना गर्नुपर्ने,
३) लघु, घरेलु तथा साना उद्यमी व्यवसायीहरु लगायत महानगरपालिका भित्रका करदाताहरुलाई कर छुटको व्यवस्था गर्नु हुन,
४) राजश्व प्रशासनलाई करदाता मैत्री बनाउनुपर्ने,
५) महानगरपालिकाका क्षेत्र भित्रका उद्यम व्यवसायहरुलाई थप व्यवस्थित गर्ने, आदि
बुँदाहरु महानगरपालीकाको नीतिमा समावेश गरिदिन अनुरोध गर्नुभयो ।