मेलम्चीको पानी भक्तपुर किन आएन ?


बैशाख ९, २०७८, बिहीबार | दिउँसो ०१:११ बजे | 30


मेलम्चीको पानी बुधबार पहिलो पटक भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ९ मा खसेको समाचारा आयो । समाचार आएको भोलिपल्टै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा भक्तपुर नपा खानेपानी समितिको प्रतिनिधिमण्डल टोलीले बिहीबार काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख मिलनकुमार शाक्यसँगको भेट गर्न गयो । प्रतिनिधिमण्डलले पानी भक्तपुरमा पनि पठाउन भनेपछि एक महिनाभित्र पठाइने र हाललाई बोडेको खानेपानी ट्यांकीमार्फत वितरण गर्न सकिने विषयमा छलफल भयो ।
सोही क्रममा नगर प्रमुख प्रजापतिले काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको बैठकबाट मेलम्चीको पानी पहिलो चरणमै भक्तपुरमा पठाउने सहमति भएकोतर्फ ध्यानाकर्षण गराउनुहुँदै भक्तपुरमा खानेपानीको निकै हाहाकार भइरहेको अवस्थामा स्थानीय जनताले मेलम्चीको खानेपानी छिटै भक्तपुर आउने आशा गरेको बताउनुभयो ।
भक्तपुरमा भएको खानेपानी समस्या समाधनको लागि भक्तपुर नपाले नगरभरिका वडाहरूमा ट्यांकरमार्फत खानेपानी वितरण गर्र्दै आइरहेको अवगत गराउनुहुँदै उहाँले भक्तपुरमा यथाशक्य छिटो मेलम्चीको पानी पठाउन आग्रह गर्नुभयो ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख मिलनकुमार शाक्यले भक्तपुरमा मेलम्चीको पानी वितरणको लागि कटुञ्जेको ट्यांकीसम्म पाइप जोड्ने कार्य भइरहेको अवगत गराउनुहुँदै करिब एक महिनाको समयअवधिमा मेलम्चीको पानी भक्तपुरमा पठाउने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले मध्यपुर थिमी नपामा मेलम्चीको पानी स्थानीयलाई वितरण सुरु भइसकेपनि भक्तपुरको सन्दर्भमा केही समय लाग्ने बताउनुहुँदै केयुकेएलले पानीको अभाव भएको ठाउँहरूलाई प्राथमिकतामा मेलम्चीको पानी वितरणमा जोड दिँदै आएको बताउनुभयो । छलफलमा भक्तपुर नपा खानेपानी समितिका सदस्यहरु उकेश कवां, श्यामकृष्ण खत्री र महेन्द्र खायमलीको पनि उपस्थिति थियो ।

Comments