चाँगुनारायणले ५० प्रतिशत अनुदानमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन
बैशाख ९, २०७८, बिहीबार | विहान ०२:५२ बजे | 25
भक्तपुर । चाँगुनारायण नगरपालिकाले ५० प्रतिशत अनुदानमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको छ । भक्तपुर स्थित नगरपालिकाले १ वैशाखदेखि लागू हुने गरी स्वास्थ्य बीमा कार्यक्रम ल्याएको हो ।नगरभित्र स्थायी रूपमा बस्नेहरूका लागि स्वास्थ्य बीमाको कुल लागतमा ५० प्रतिशत अनुदान नगरपालिकाले बेहोर्ने भएको नगरपालिका प्रमुख सोमप्रसाद मिश्रले बताएका छन् । ५० प्रतिशत भने स्थानीयले बेहोर्नुपर्नेछ ।
नगरप्रमुख मिश्रका अनुसार स्थानीयको स्वास्थ्यलाई दृष्टिगत गरी नगरपालिकाले उक्त कार्यक्रम ल्याएको हो । नेपाल सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा मुलुकभर ५ जनासम्म सदस्य रहेको परिवारले बीमाका लागि ३५०० रुपैयाँ तिर्नुपर्ने छ । तर, कार्यक्रम लागू भएसँगै स्थानीयले सोको ५० प्रतिशतमा स्वास्थ्य बीमा गर्न सक्नेछन् । त्यसका लागि आवश्यक तयारीसँगै सहजकर्तासमेत नगरका वडामा खटाइएको छ ।
चाँगुनारायणको सातौँ नगरसभाको नीति तथा कार्यक्रममा पारित स्वास्थ्य बीमामा ५० प्रतिशत अनुदान कार्यान्वयनका लागि बनेको स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन कार्यविधि, २०७७ अनुसार १ वैशाखबाट स्वास्थ्य बिमा अनुदान कार्यक्रम लागू भएको हो ।बीमा कार्यक्रममा समावेश हुन निवेदन पेस गर्दा सबै परिवार सदस्यहरूको परिचय खुल्ने नागरिकता वा जन्मदर्ताको प्रतिलिपि अनिवार्य गरिएको छ ।