निर्वाचित तामाङ पत्रकारहरूलाई कार्यालयमै बोलाएर घेदुङले दियो बधाई
बैशाख ९, २०७८, बिहीबार | विहान ०२:२७ बजे | 30
काठमाडौँ । नेपाल पत्रकार महासङ्घको हालै सम्पन्न निर्वाचनमा निर्वाचित भएका तामाङ पत्रकारहरू र नेपाल टेलिभिजनका महा प्रबन्धक फूलमान वललाई नेपाल तामाङ घेदुङ र तामाङ पत्रकार सङ्घले बधाई तथा शुभकामना दिएको छ । बुधवार घेदुङको कार्यालयमा उनीहरूलाई बधाई तथा शुभकामना दिएको हो ।
देशभरिमा यो पटक विभिन्न पदमा ३७ जना तामाङ पत्रकारहरू निर्वाचित भएका छन् । उनीहरूलाई बधाई तथा शुभकामना दिँदै घेदुङका सङ्घीय महासचिव बाबु घिसिङले ताम्सालिङको मुद्दालाई सञ्चार माध्यमबाट सशक्त रूपमा उठाउन अनुरोध गरे ।
त्यसैगरि नेपाल टेलिभिजनका महा प्रबन्धक फूलमान वलले नेपाल टेलिभिजनलाई समावेशी बनाउन आफू लागी परेको बताए । साथै केही दिनमै नेपाल टेलिभिजनबाट तामाङ भाषाको साप्ताहिक कार्यक्रम र दैनिक रूपमा समाचार प्रसारण गर्नका लागि योजना बनाई रहेको जानकारी दिए । वलले राष्ट्रिय पहिचानको लागि नेपाल टेलिभिजनले कार्यक्रमहरू उत्पादन गर्न लागेको बताए ।
एक फरक प्रसङ्गमा वलले सांस्कृतिक ताम्सालिङको लागि बहस चलाउनु पर्ने बताउँदै सांस्कृतिक ताम्सालिङको बारेमा बहस भए राजनीतिक ताम्सालिङको लागि पनि टेवा पुग्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य सञ्चु ब्लोनले पत्रकार महासङ्घको समावेशी र प्रत्यक्ष निर्वाचित निर्वाचन प्रणालीका कारण तामाङहरू महासङ्घमा समावेश हुन पाएको बताए । उनले अब समाचारमा पनि समावेशी हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल तामाङ घेदुङका सङ्घीय अध्यक्ष मोहन गोलेले निर्वाचित सबैलाई तामाङ टोपी र खदा लगाएर बधाई तथा शुभकामना दिएका थिए ।
कार्यक्रममा अन्तर्राष्ट्रिय तामाङ परिषद्का वरिष्ठ उपाध्यक्ष टासी लामा, घेदुङका वरिष्ठ उपाध्यक्ष बेलीमाया तामाङ, उपाध्यक्ष कुमार घिसिङ, सचिव रामकृष्ण ब्लोन, कोषाध्यक्ष रूप योञ्जन, सूचना तथा सञ्चार विभाग प्रमुख जगत दोङ लगायतका सहभागी थिए ।
यस्तो छ देशैभरि निर्वाचित तामाङ पत्रकारहरूको विवरण